नयाँ सदस्यमा खड्का नियुक्त भएपछि पहिलोपटक न्याय परिषद्को बैठक बस्दै, न्यायाधीश नियुक्तिबारे होला निर्णय ?


काठमाडौं । न्याय परिषद्को बैठक आज बस्दैछ । दामोदर खड्का न्याय परिषद्को सदस्यमा नियुक्त भएपछि पहिलोपटक बैठक बस्न लागेको हो । दिउँसो ४ बजेपछि बैठक बस्ने परिषद् सचिवालयले जनाएको छ ।

करिब दुई महिनाको रिक्ततापछि गत माघ २१ गते खड्का सदस्य नियुक्त भएका थिए । परिषद्ले पूर्णता पाउन नसक्दा सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त हुन सकेका छैनन् ।

२१ जना न्यायाधीश रहने सर्वोच्चमा हाल चार जनाको पद रिक्त छ भने उच्चमा पनि झण्डै डेढ दर्जन न्यायाधीश नियुक्त गर्नुपर्ने अवस्था छ । यद्यपि आज न्यायाधीश नियुक्तिबारे छलफल हुने नहुनेमा अन्यौलता छ ।

प्रधानन्यायाधीशनिकट स्रोत अनुसार, आज नयाँ सदस्य खड्काको पहिलो बैठक भएकाले परिचय र स्वागत हुनेछ। त्यस्तै आजको बैठकमा केही न्यायाधीशको सरुवा र काजबारे मात्र निर्णय हुने र बाँकी निर्णय अर्को बैठकमा गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

संविधान र न्याय परिषद् ऐनमा भने न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइसक्नुपर्ने व्यवस्था छ । तर राजनीतिक दलहरुबीच भागबन्डा मिल्न नसक्दा तोकिएको समयमा नै न्यायाधीश नियुक्त हुन सकेका छैनन् ।