थुनामा पठाउने रुपन्देही अदालतको आदेशविरुद्ध उच्चमा पुगे छविलाल, कैफियत प्रतिवेदन माग्ने आदेश


काठमाडौं । सहकारी ठगीको आरोपमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी उच्च अदालत पुगेका छन् ।

जोशीको तर्फबाट अधिवक्तासमेत रहेका उनका छोरा रोचक जोशीले मंगलबार उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका हुन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत रुपेन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउन आदेश दिएको थियो। यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ५० लाख धरौटी बुझाएर रिहा भएका थिए।