संसद् पुनर्स्थापना गरेर सर्वोच्चले असंवैधानिक काम गरेको प्रधानमन्त्री ओलीको आरोप


काठमाडौं, ३० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना गरेर सर्वोच्च अदालतले असंवैधानिक काम गरेको आरोप लगाएका छन् । आज (बुधबार) एमालेनिकट निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसद् पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश जारी गरेर असंवैधानिक काम गरेको बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री ओली दोस्रो पटक २०७८ जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेका थिए । तत्कालीन प्रधानमन्त्री ओलीको उक्त कदमलाई सर्वोच्चले असंवैधानिक भनेको थियो । सोही प्रसंग उल्लेख गर्दै उनले भने,‘प्रधानमन्त्री नियुक्त गर्ने काम त संसद्को थियो । संसद्बाट प्रधानमन्त्री नियुक्त भएन, कस्तो सहनुपरेको छ हामीले । प्रधानमन्त्री अन्तैकतैबाट बर्खास्त हुन्छ । प्रधानमन्त्री अन्तै कतैबाट नियुक्त हुन्छ, संसद् किन चाहियो ? असंवैधानिक काम गर्यो भनेर, खुदै अदालतबाट संवैधानिक काम भयो र ? प्रधानमन्त्री अदालतले बर्खास्त गर्ने, प्रधानमन्त्री अदालतले नियुक्त गर्ने संविधानको कुन धारामा लेखिएको छ ? छैन, असंवैधानिक काम हो ।’

त्यसबेला अनेक तानाबाना बुनेर एमालेलाई सरकारबाट बाहिर पुर्याएको उनले बताए । अहिले फेरि एमालेको नेतृत्वमा सरकार रहेको बेलामामा तिनै तत्वहरु छाति पिट्ने, कपाल लुछ्ने र कराउनले गर्न थालेको उनको टिप्पणी छ । सरकारले काम गरेन, बदमासी गर्यो भन्ने कुनै ठाउँ नपाएपछि स्वीजरल्याण्डमा पैसा लुकायो भनेर भ्रम फैलाइएको समेत उनले बताए ।

कांग्रेस–एमाले दुवैले अहिलेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग चेतेकै कारण यो गठबन्धन सरकार बनेको उनको दाबी छ ।