कांग्रेस नेताको टिप्पणीः राष्ट्रपतिको कारण भूमिसम्बन्धी अध्यादेशमा आशंका उब्जियो


काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई पहाड बनाउनुपर्ने आवश्यक नरहेको बताएका छन् ।आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भूमिसम्बन्धी अध्यादेश पारित गराउन आवश्यक संख्या नपुगेको खण्डमा अस्वीकृत हुने बताए ।

सो अध्यादेशको सम्बन्धमा सुरुमा राष्ट्रपतिले आशंका व्यक्त गरेका कारण अहिले प्रतिपक्षीले पनि गलत प्रयोग हुन्छ कि भन्ने ढंगबाट सोचिरहेको उनले बताए । सत्तारुढ दलहरु लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालले र प्रतिपक्षी दलहरुले पाँच वटा अध्यादेश ठीक भनेको र एउटामा आशंका व्यक्त गरिरहेको उनले बताए ।

‘भूमिसम्बन्धी अध्यादेशमा उहाँहरुको अलिकति चिन्ता छ । राष्ट्रपतिजीले पनि एक दिन रोक्नु भएको हो । गलत प्रयोग हुन्छ कि भन्ने सम्बन्धमा राष्ट्रपतिजीले रोक्नु भएको हो । त्यसबाट विपक्षी दलहरु सशंकित भएको अवस्था हो । उहाँहरुलाई हामीले आश्वस्त पार्नुपर्यो । होईन भने त्यो निष्कृय हुन्छ, त्यसमा केही कुरा छैन । अरु पाँच वटा ठीक छ भन्नु भएको छ । त्यसलाई पहाड बनाइरहनुपर्ने कुरा छैन,’– उनले भने । File Photo/RN