काठमाडौं, १ फागुन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले फास्ट ट्र्याकबाट निर्धारित समयमै महाधिवेशन हुने बताएका छन् । बुधबार नेपाल तरुण दल केन्द्रीय समितिको र जिल्ला अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले तरुण दलको महाधिवेशन निर्धारित समयमै हुने कुरामा द्विविधा नराख्न आग्रह गरेका हुन् ।
तरुण दलले समयमै अधिवेशन सम्पन्न गर्छ भन्ने कुरा पार्टीलाई विश्वास रहेको उनले बताए । अध्यक्ष गुरुङले जिल्लामा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूबीच एक ढिक्का भएर अधि बढ्न निर्देशन दिँदै केन्द्रीय सदस्य सम्बपन्धित जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइने बताए ।
जिल्लामा केन्द्रीय सदस्यले पूर्णकालीन सदस्यता बाँडी फागुनको २९ गतेभित्र केन्द्रमा पठाउनसमेत उनले निर्देशन दिए । अध्यक्ष गुरुङले चैत्र २ र ३ गते बैठक बसी चैतभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको बताए ।
तरुण दललगायत अन्य भातृ संगठनको चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रीय समितिको बैठकले केही समयअघि निर्णय गरी महाधिवेशन निर्देशन समितिको गठन गरेको थियो ।
बैठकमा महाधिवेशन निर्देशन समितिको संयोजक पार्टी सह–महामन्त्री डीना उपाध्याय, काङ्ग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई, राष्ट्रियसभा सदस्य जितजङ्ग बस्नेतलगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया