देउवाले साथ खोजेपछि माधव नेपालको सक्रियता बढ्यो


काठमाडौं, २ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज विहानैबाट सक्रिय भएका छन् । सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट पारित नहुने अवस्था सिर्जना भएपछि राष्ट्रिय राजनीति नै तातिएको बेलामा एकाएक माधव नेपालको सक्रियता बढेको हो ।

सरकारले ल्याएका अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट पारित गर्नको लागि सकस भैरहेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएका छन् ।

अध्यादेश पारित गर्नको लागि अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई लोसपा र जसपाको साथ अनिवार्यजस्तै बनेको थियो । तर, दुवै दल विपक्षमा उभिएपछि सरकारलाई सकस परेको छ । अध्यादेश नै अलपत्र पर्ने भएपछि सरकार सञ्चालनको जिम्मा लिएका कांग्रेस र एमाले नेतृत्वमाथि नै नैतिक संकट पैदा भएको छ । यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओलीर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि अतिरिक्त सक्रियता देखाएका छन् ।

देउवाले नै राष्ट्रियसभामा ८ जना सांसद रहेको एकीकृत समाजवादीलाई अध्यादेशको पक्षमा उभ्याउन गृहकार्य थालेका छन् । देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाएको चर्चा छ । माधव नेपालले सम्मानित नेता झलनाथ खनालसँगपनि सम्वाद गरेका छन् । उनले आजै कांग्रेस सभापति देउवासँगपनि भेटवार्ता गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले पनि माधव नेपालको साथ खोजेका छन् । ओलीले पनि आफूले सिधै सहयोग नमागेर देउवामार्फत माधव नेपालको साथ खोजेका छन् । यस्तोमा माधव नेपाल सरकारले ल्याएका अध्यादेशको पक्षमा उभिए देउवाकै विश्वासको कारण उभिनसक्ने बताईन्छ । अहिले सरकारलाई अप्ठ्यारो पर्दा सघाए ओलीले पनि एमाले र एकीकृत समाजवादीबीचको एकताको लागि हृदय ठूलो बनाउनसक्ने बताईन्छ । file photo