अध्यादेश पारित गराएरै छोड्ने ओली–देउवाको दाबी, अब माधवको हातमा चाबी ?


काठमाडौं, ३ फागुन । सत्ता गठबन्धनका मुख्य घटकहरु नेपाली कांग्रेस र नेकपा (एमाले) को नेतृत्वहरु अध्यादेश पारित गराएरै छोड्ने अठोटमा पुगेका छन् । राष्ट्रियसभाबाट पारित गर्नको लागि दुई दलसँग बहुमत नपुग्ने र सरकारमै भएका दललेपनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मत हाल्ने निर्णय लिएपछि बालुवाटार र बुढानिलकण्ठ तरंगित बनेको थियो ।

जसपा, नेपालले भूीमसम्बन्धी अध्यादेश अस्विकार गर्ने निर्णय लिएको दुई दिन बित्न नपाउँदै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय लिएपछि कांग्रेस र एमाले नैतिक संकटमा परेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलपछि अध्यादेशको पक्षमा माहोल बनाउनको लागि माधव नेपाललाई फकाउने समझदारी बनेको छ ।

कांग्रेसको बैठकमा त सभापति देउवाले माधव नेपालालई मनाउने जिम्मा लिएका छन् । यता, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरुलेपनि अध्यादेशको सवालमा प्रस्ताव आए छलफल गर्न सकिने निश्कर्ष निकालेका छन् । जसपा, नेपाल र लोसपाले साथ नदिने भएपछि कांग्रेस र एमाले नेतृत्व विकल्पको खोजीमा लागेका हुन् ।

अध्यादेश पारित गर्नको लागि अब माधव नेपालको साथ अनिवार्य भएको बुझाईमा कांग्रेस नेताहरुले माधव नेपालसँग भेटवार्ता बाक्लो बनाएका छन् । एमालेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सँगपनि छलफल गर्ने भनेको छ । तर, अध्यादेश पारित गर्ने सवालमा मुख्य चाबी माधव नेपालको हातमा रहेको बुझेपछि देउवाले त्यहीअनुसारको गृहकार्य थालेका छन् । आज साँझसम्म माधव नेपालसँग देउवाले भेट्ने तयारी गरेको बुझिएको छ ।