कांग्रेस-एमालेकै कारण माओवादी सशस्त्र संघर्ष भएको लिङ्दनेको आरोप, ज्ञानेन्द्रलाई फेरि राजा बनाएरै छाड्ने चेतावनी


काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले) को कारण तत्कालीन माओवादीले १० वर्षे सशस्त्र संघर्ष गर्नुपरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन समयमा माओवादीले संविधान सभाको माग गर्दा कांग्रेस–एमालेले त्यसलाई अस्वीकार गरेको र फलस्वरुप द्वन्द्व सुरु भएको उनले बताए । देश द्वन्द्वको भूमरीमा फसेर ठूलो क्षतिपश्चात भने कांग्रेस–एमालेले संविधान सभामात्रै नभएर माअ‍ोवादीको सबै एजेण्डाहरु स्वीकार गर्न तयार भएको उनको दाबी छ ।

नेता लिङ्देनले कांग्रेस–एमालेलाई सच्चिन आग्रह गरेका छन् । हिजोको गल्तीलाई महशुस गरेर राजतन्त्रको पक्षमा उभिने उनले आग्रह गरे । कांग्रेस–एमाले अब पनि नसच्चिए आफूहरुले सडक आन्दोलन सुरु गर्ने पनि उनले बताए । ‘२०५२ साल फागुन १ गते तत्कालीन माओवादीहरुले संविधान सभाको माग गरेर आउँदा तपाईँहरुले संविधान सभाको चुनावसम्म स्वीकार गर्नु भएन । माओवादी विद्रोहमा गयो । १० वर्षे द्वन्द्वपछि तपाईँहरुले संविधान सभामात्रै स्वीकार गर्नु भएन, माओवादीका सबै एजेण्डाहरु स्वीकार गर्नुभयो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता माओवादीका सबै एजेण्डा बोक्न तयार हुनुभयो । अहिले पनि तपाईँहरुले गल्ती स्वीकार गर्नु हुन्छ र देशलाई निकास दिनुहुन्छ भन्ने आशा गर्छु । तपाईँहरुले देशलाई यसरी नै लान्छु भन्नुभयो भने देश यसरी चल्दैन । जनता पनि चुप लागेर बस्दैनन् । छिनोफानो गर्नका लागि हामी सडकमा आउँछौं,’– उनले भने ।

राजतन्त्रलाई स्थापित गराएरै छाड्ने र त्यो समय अब धेरै टाढा नरहेको उनको चेतावनी छ । ‘दलहरु चाँडै सच्चिउन् । नभए निर्मल निवास र नारायणहिटीको दुरी कति छ ? जसरी तपाईँहरुले राजालाई जबरजस्त विस्तापित गर्नुभयो, निर्मल निवासबाट डोहोर्याउँदै–डोहोर्याउँदै नारायणहिटी पुर्याउन तयार छौं । त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । यो सामान्य कुरा नसम्झिनुहोला,’– उनले भने ।