काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेलाई अन्तरराष्ट्रिय संघ/संस्थाहरुले यी दलहरु ठग हुन् भनिसकेको टिप्पणी गरेका छन् । आज (शनिबार) स्थानीय तहबाट समाजवादको पूर्वधार निमार्ण सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल आर्थिक रुपले ग्रे लिस्टमा र भ्रष्टाचारमा अग्रणी बनिसकेको बताए । आफू नेतृत्वको सरकारले भ्रष्टाचारको विरुद्धमा अभियान नै चलाएको र अर्थिक सुधारको लागि उल्लेखनीय काम गरेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भने अहिले भ्रष्टाचारी र दलालहरुको संरक्षणको पक्षमा लागेको उनले बताए ।
‘अहिले नेपाल आर्थिक रुपले ग्रे लिस्टमा र भ्रष्टाचारमा चाहीँ अग्रणी, सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ/संस्थाले बडो अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त छ, यी पार्टीहरु ठगहरु हुन् भनेर कांग्रेस र एमालेलाई त ताकेर नै भनेको पनि तपाईँ हामीले देखिराखेकै छौं,’– उनले भने ।
अहिले माओवादी केन्द्र र प्रदेशको सरकारमा सहभागी नरहेको स्मरण गराउँदै उनले स्थानीय तहबाट समाजवादको भ्रुण विकास गरिनुपर्ने धारणा राखे । उनले माओवादीले जितेको स्थानीय तह हेर्दै फरक देखिने खालको हुनुपर्ने भन्दै सोहीअनुरुप काम गर्न आग्रह गरे । अहिलेको देशको ऐतिहासिक आवश्यकतालाई माओवादीले बाहेक अरु कसैले चिन्तन मनन गर्न नसक्ने उनको दाबी छ । माओवादीले समाजवादको यात्रालाई गम्भीर रुपले चिन्तन र मनन गर्न नसकिएको खण्डमा देश गम्भीर खतरामा पर्न सक्ने उनले बताए । अध्यक्ष प्रचण्डले पछिल्लो समय आफूले नेतृत्व सरकारको सरकारको पहल कदमी र त्यसपछिको आह्वानले जनतामाझ माओवादीलाई नजिक बनाएको बताए ।




प्रतिक्रिया