नेपाल ‘ग्रे लिस्ट’ मा पर्नुको मुख्य दोषी ओली र लामिछाने हुन्ः अधिवक्ता नेपाल (भिडिओसहित)


काठमाडौं, ११ फागुन । अधिवक्ता स्वागत नेपालले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राख्नुमा मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रहेको आरोप लगाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली र लामिछानेजस्ता मान्छेहरुले जनता लुट्ने र देश दोहन गर्ने काम गरेपछि नेपाल ग्रे लिस्टमा परेको आरोप लगाएका हुन् ।

फरक–फरक नाम रहेका एउटै दलहरुले अपराधसँग सत्ताको साटफेर गरेको कारण अहिलेको परिस्थिति सिर्जना भएको उनको दाबी छ । अधिवक्ता नेपालले अहिलेसम्म सरकारमा गएका र सरकारमा भएका सबैसँग कालो धन रहेको उनको दाबी छ ।

‘नेपाल ग्रे लिस्टमा पर्नुको मुख्य कारण एक नम्बर केपी ओली, दुई नम्बर रवि लामिछाने । यी सबै बेग्लाबेग्लै नाम गरेको एउटै दलहरु मिलेर जनताको पैसा लुटेर खाए । यस्ता ठगहरु, अभियुक्तहरुको मुद्दा राज्यले योजना बनाएर फिर्ता लिने, अपराधसँग सत्ताको साटफेर र मुद्दा नचलाउने शर्तमा विश्वासको मत दिने, यो कुरा नै भ्रष्टाचार हो । मैले मुख्य दुई भनेँ । अरु अहिलेसम्म सरकारमा गएका र सरकारमा भएका सबै हुन् । अहिलेसम्म सरकारमा गएका र सरकारमा भएका सबैसँग कालो धन छ । यो देशमा २१ चोटी मन्त्री भए,’– उनले भने ।