मुकुम्लुङ केबलकार निर्माण विवादमा राजनीति छिर्‍यो, धर्म-संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रयोग गरियो: योगेश भट्टराई


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै ताप्लेजुङका संघीइ सांसद समेत रहेका नेता भट्टराईले विरोधको हकसबैलाई भएता पनि एन र कानूनले दिएको अधिकारको उपयोग गरेर केबलकार निर्माण थाल्दा कुनै स्वार्थ समूहले राजनीति छिराउन नहुने बताएका छन् ।

‘ताप्लेजुङमा भइरहेको आन्दोलन र जुलुसमा नागरिकहरु आतंकित बनेका छन् । मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने काम भयो । सुरक्षाकर्मीमाथि सांगातिक हमला गर्ने काम भयो । उनीहरु घाइते छन् । उनीहरुको संयमताले अन्य गतिविधि र थप नोक्सानी हुनबाट जोगिएको छ । ताप्लेजुङ जिल्ला पटक-पटक आगोलागीको चपेटामा परेको छ । त्यहाँ सुरक्षाकर्मीको संयमताले त्यस्तो स्थिति आउन पाएन । विकासको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिकिो विरोधी कोही पनि छैन् । धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौं । राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँछौं । तब विवादको ठूला रुप लिन्छ । नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यस्तो मुलुकमा यस्तो खालको विवाद उत्पन्न हुनु अत्यन्तै दुखद कुरा हो’ उनले भने ।

केबलकार निर्माणको विरोध चर्किएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ५ बजेबाट लागू हुनेगरी फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । ‘नो केबलकार’ पक्ष र प्रहरीबीच शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा झडप भएपछि प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ ।फुङलिङ नगरपालिका बजार क्षेत्र पूर्व फुङलिङ–७, सल्लेरी, पश्चिम फुङलिङ–७, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म) र उत्तरमा उकालीपानी तथा दक्षिणमा शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)सम्म निषेधाज्ञा क्षेत्रको सीमा तोकिएको छ ।

यस्तै, काफ्लेपाटीको बल्लुडाँडा क्षेत्र, पूर्वतिर पर्यटक प्रहरी भवनको १०० मिटर इलाका, पश्चिममा बल्लुडाँडा र डडेले इलाका, उत्तरतिर केबलकार बेस स्टेशन र दक्षिणमा नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)लाई समेत निषेधाज्ञा क्षेत्र तोकिएको छ । निषेधाज्ञा उग्लघन गर्नेलाई कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासनले जनाएको छ ।