काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको प्रति संसदमा छलफल हुनुपर्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले नेपाल ग्रे लिष्टमा पर्दा नेपालको बर्तमान ऋणको भारी र भ्रष्टाचारको महामारीले झनै अप्ठ्यारोमा परेको टिप्पणी गरेका छन् ।
‘एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रूपको ग्रे लिस्टमा परेको छ । भर्खरै सार्वजनिक भएको भ्रष्टाचार सुचांकमा नेपालको एक स्थान सुधार भएको छ । यसले वर्तमान ऋणको भारी र भ्रष्टाचारको महामारीले ग्रसित नेपाललाई झन अप्ठ्यारोमा पुर्याएको छ । अन्तराष्ट्रिय सहायता एवं वित्तिय व्यवस्थापनमा गम्भीर परिणाम र असर भोग्नुपर्ने छ’उनले भने ।
पूर्व मन्त्रीसमेत रहेका नेता केसीले नेपालले भ्रष्टाचारबाट मुक्त हुनका लागि एक हजार र पाँच सयका नोटमाथि प्रतिवन्ध लगाउनुपर्ने र भ्रष्टाचारका काण्ड छानविन गर्न पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।
‘यो संवेदनशील र गम्भीर मामिलामा संसदीय छलफल हुनुपर्छ । यस्तो गम्भीर प्रकृति नदोहोरिने प्रतिवद्धताका लागि हजार र पाँच सयको नोटमाथि प्रतिवन्ध लगाउनुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय साख र विश्वसनियता स्थापना गर्न आजसम्म चर्चामा आएका सबै खाले भ्रष्टाचारको काण्ड छानबिनका लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्छ’ उनले भने ।




प्रतिक्रिया