अब हामीले आँखा खोल्नुपर्छ, सहयोगका नाममा जे पायो त्यही र जसको पायो त्यही स्वीकार नगरौं: गोकुल बास्कोटा


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सहयोगको नाममा जसको पायो उसैको सहायता स्वीकार गर्न नहुने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका नेता बास्कोटाले सहयोगका नाममा जे पायो त्यही र जसको पायो त्यही स्वीकार गर्ने परम्परा त्याग्नुपर्ने बताएका हुन् ।

बास्कोटाले भने ‘अमेरिकाले लामो समयदेखि विभिन्न एजेन्सीमार्फत नेपाललाई सहयोग गर्दै आएको छ । नेपालले पनि सहयोग स्वीकार गर्दै आयो । तर आज आज ठग बनाइएका छौं, उल्टो प्रहार हामीमाथि भएको छ । उनीहरूले सहयोग दिए हामीले लियौं, जसले सहयोग दिएको हो उसले फ्रड गरेको हो कि हामीले गरेको ? उहाँहरूले दिएको सहयोगको अनुगमन र लेख परीक्षण कसले गरेको छ ? त्यसैले अब हामीले आँखा खोल्नुपर्छ, सहयोगका सीमाहरू स्पष्ट पार्नुपर्छ । जे पायो त्यही, जसको पायो त्यही स्वीकार नगरौं, बजेटरी सिस्टमभित्र पनि सुधार गरौं’ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको वित्तीय सहायतालाई फ्रड भनेकोप्रति आपत्ति जनाउँदै बास्कोटाले अब आँखा खोल्ने बेला आएको बताए ।