विभिन्न दल र सांसदहरुसँग कुरा भइरहेको छ, जसरी पनि भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउँछौंः ठाकुर गैरे


काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले संघीय संसद्को दुवै सदनबाट सबै अध्यादेशहरु पारित हुने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विकासको पुँजीगत खर्च वृद्धि गर्न, आईटी सेक्टरका विज्ञहरुलाई देशभित्रै बसेर विदेशी पुँजी नेपाल भित्र्याउने परिस्थिति बनाउन, उद्यमशीलता विकास गर्न, भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नका लागि अध्यादेश आएकाले यसमा सबैले सहयोग गर्ने बताएका हुन् । यी अध्यादेशहरुलाई प्रतिपक्षी दलहरुले सत्ता पक्षको अध्यादेशको रुपमा बुझ्न नहुने उनको भनाइ छ ।

अध्यादेशमा कुनै सुधार गर्नुपर्ने देखिएमा प्रतिस्थापन विधेयकमार्फत सुधार गर्न सकिने कुरामा सत्तारुढ दलहरु जहिले पनि खुला रहेको उनले बताए । नेता गैरेले राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन विभिन्न दल र सांसदहरुसँग छलफल भइरहेको पनि बताए । उनले जसरी पनि अध्यादेश पारित हुने दाबी गरे । ‘यसलाई संसद्बाट सर्बसम्मतीले पास गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । यसलाई राष्ट्रिय सभामा हलो अड्काउने कोशिस भएको छ । यो जनताको हितमा छैन । यसलाई सर्वसम्मतीबाट पास गराउँ भन्ने हाम्रो अपिल हो, यदि त्यसमा उहाँहरु सहमत हुनुभएन भने अहिले विभिन्न दलहरु र माननीयज्यूहरुसँग छलफल भइरहेको छ । म तपाईँलाई ढुक्कसँग भन्छु यो अध्यादेश सदनबाट पास हुन्छ,’– उनले भने ।

वर्तमान सरकार सुशासनको पक्षमा रहेको पनि उनको भनाइ छ । प्रधानमन्त्री, सांसददेखि सबै तह र पदमा रहेका व्यक्तिहरु कोही भ्रष्टाचारजन्य काममा संलग्न रहेको पाइएमा कारबाहीको भागिदार हुनुपर्छ भन्ने कुरामा वर्तमान सरकार दृढ रहेको उनले बताए । ‘अहिलेको सरकारले पनि यो संकल्प गरेको कुरा हो कि चाहे ठूला, चाहे साना, प्रधानमन्त्री, सांसददेखि जुनसुकै ओहदाको मान्छे किन नहोस् भ्रष्टाचारजन्य काममा संलग्न भएको प्रमाणित हुँदाखेरी त्यस्ता मान्छेहरुले कारबाहीको प्रक्रियाबाट छुट पाउन हुँदैन भन्ने कुरामा हामी दृढ छौं,’– नेता गैरेले भने ।

नेता गैरेले कुनै दलमा एक जना मान्छे खराब निस्कियो भने त्यो पार्टी नै खराब हो भन्ने भाष्य खडा गर्न नहुने बताए । उनले केही खराब प्रवृत्ति भएका मान्छेहरु दलभित्र हिजो पनि रहेको, आज र भोलि पनि रहन सक्ने भन्दै जो दोषी हो उसलाई कानुनी कारबाही गरिनुपर्ने बताए । ‘यो देशमा केही गरौं भन्ने मान्छेहरु पनि छन् । देशका लागि त्याग गरेका, मरिमेटेका, समर्पण साथ काम गरेका मान्छेहरु पनि छन् । हामी छौं, हामी यो देश बनाउँछौं । हामीले यो देश बनाउनुपर्छ । त्यसको अर्को विकल्प छैन,’– उनले भने ।