काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा क्रान्तिको केन्द्र बनेको झापा अहिले प्रतिक्रान्तिको केन्द्र हुने खतरामा रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) जनतासँग माओवादी तराई मधेस जागरण अभियानको शुभारम्भ गर्नका लागि झापामा रहेका प्रचण्डले चितवनबाट त्यहाँ आएर बसोबास गरिरहेका समुदायसँगको भेटका क्रममा आफूहरु प्रतिक्रान्तिको खतरालाई निस्तेज पार्न अभियानमा जोडिएको र झापाबाटै अभियान सुरु गरिएको बताएका हुन् । उनले झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउने आफूहरुको चाहना रहेको पनि बताए ।
कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व वेधनिधि निरौलाले झापा विद्रोहको बारेमा राखेको मतको समर्थन गर्दै अध्यक्ष प्रचण्डले त्यसबेला क्रान्तिकारी धार रोजेको भन्दै धन्यवाद ज्ञापन गरे । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीतर्फ लक्षित गर्दै अध्यक्ष प्रचण्डले झापा विद्रोहको नेतृत्व गरेको दल र त्यसका नेताहरुले अहिले क्रान्तिकारी धार छाडेर पुँजीवादी धारतिर अगाडि बढिरहेको बताए । क्रान्तिकारीहरुले अब नयाँ समाजवादी क्रान्तिका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आइसकेको उनको भनाइ छ ।
‘हिजो क्रान्तिको केन्द्र भएको र अहिले प्रतिक्रान्तिको केन्द्र हुने खतरा भएको झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि हामी तपाईँहरुसँग अपिल गर्न, यहाँका जनतासँग अपिल गर्न यहाँ आएका छौं,’– उनले भने । File Photo/RN




प्रतिक्रिया