काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतको केआआटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संसद्मा बोल्ने क्रममा रास्वपाका उपसभापतिसमेत रहेका सांसद डा स्वर्णिम वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले रास्वपा सांसद वाग्लेले गम फागुन ८ गते बसेको बैठकमा परिवारका सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै उक्त अभिव्यक्ति संसल्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
कांग्रेस सांसद खतिवडाले नियमापत्ति गर्दै भने, ‘सभामुख महोदय, २०८१ फागुन ६ गतेका दिन भारतको उडिसामा प्रकृति लम्सालको भएको दुखद निधनप्रति हामी सबै चिन्तित भयौ । उहाँको स्वर्गवास भयो, हामी सबैले उहाँप्रति श्रद्धाञ्जली दियौ । तर, एक जना माननीय सदस्यले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसदमा बोल्नुभएको छ । बुटवलवासी मात्रै होइन, समग्र देशवासी नै घरपरिवारमा एउटा छोरी परलोक भएको अवस्थामा परिवारका सबैलाई श्रद्धाञ्जली भन्ने वक्तव्य रेकर्डबाट हटाइयोस् । यो फागुन ६ गतेका दिन डा.माननीय स्वर्णिम वाग्लेले त्यस्तो भन्नुभएको छ । त्यसैले यो संसदको रेकर्डबाट हटाइयोस् भनेर माग गर्दछु सभामुख महोदय ।’
सांसद खतिवडाको उक्त मागप्रति सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउँदै संसद् सचिवालयका कर्मचारीलाई अध्ययन गर्न र त्यस्तो भएमा सच्याउन निर्देशन दिएका छन् ।




प्रतिक्रिया