राजेन्द्र महतोको नजरमा एमालेः कम्युनिष्ट विचारधाराबाट अलग भइसकेको सबैभन्दा बढी अवसरवादी गुट


काठमाडौं, १२ फागुन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेकपा (एमाले) नवपुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको टिप्पणी गरेका छन् । आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष महतोले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेले प्रारम्भमा उत्पीडित जाति वर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि अहिले पूँजीवाद र अवसरवादको मिश्रणमा फसिसकेको टिप्पणी गरेका छन् । उनले एमाले सैद्धान्तिक रुपमा विचलनको अवस्थामा रहेको र स्पष्ट नीति निर्माण गर्न असफल भइसकेको दाबी गरेका छन् ।

साथै, विश्वमै कम्युनिष्ट विचारधारा असफल सिद्ध भइसकेको अध्यक्ष महतोको दाबी छ । असफल विचार धाराबाट अलग भइसकेर एमाले सबैभन्दा बढी अवसरवादी बनिरसकेको उनले आरोप छ । साथै, एमालेले आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने उनको टिप्पणी छ ।

‘हाल यो पार्टी स्वदेशी जनताको अधिकारलाई दबाउने र राष्ट्रिय मुक्तिको आन्दोलनलाई समाप्त पार्ने दिशामा अग्रसर छ। एमाले आफ्नो अस्थिर र अवसरवादी नीतिका कारण राष्ट्रिय मुक्तिको लागि सबैभन्दा खतरनाक शक्ति हो । यसलाई प्रमुख प्रतिस्पर्धी शक्तिको रूपमा चिन्हित गर्दै यसको प्रतिरोधमा विशेष ध्यान दिन आवश्यक छ,’– उनले प्रतिवेदनमा भनेका छन् ।