नेपाल ग्रे लिष्टमा पर्नुको दोषी माओवादी हो, प्रधानमन्त्रीको राजीनामा मागेर गरिएको अरण्य रोदन सुन्दा मलाई आश्चर्य लाग्यो: सूर्य थापा


काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले माओवादीकै कारण नेपाल ग्रे लिष्टमा परेको जिकिर गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले एफएटीएफले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारकै पालामा नेपालले गर्नुपर्ने कामको बारेमा जानकारी गराउँदा पनि तोकिएको शर्त पूरा नगर्दा यस्तो स्थिति आइलागेको जिकिर गरे ।

‘फागुन ५ देखि ९ गतेसम्म सम्पन्न एफएटीएफको बैठकले एसिया प्रशान्त क्षेत्रमा नेपाल र लाओसलाई ग्रे लिष्टमा राख्ने निर्णण गरेको छ । नेपाललाई सुधार गर्नुपर्ने भनि ०८० साउनमा दिएका चेतावनीहरुको आंशिक मात्र कार्यान्वयन गरेको ठहर गर्दै यो निर्णय भएको छ । र, म स्मरण गराउन चाहान्छु । त्यसपछिको एक वर्ष पुष्पकमल दाहाल देशको प्रधानमन्त्री हुनुहुन्थ्यो’ उनले भने ।

सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर माओवादीले अरण्य रोदन सुरु गरेको टिप्पणी पनि गरेका छन् ।’विगत ७ महिनादेखि केपी शर्मा ओली देशको प्रधानमन्त्री हुनुहुन्छ । साथीहरुले प्रधानमन्त्रीको मार्ग प्रसस्तीको मागको अरण्य रोदन सुन्दा मलाई आश्चर्य लाग्यो’ उनले भने ।