काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएको बताएका छन् ।
एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले यसले पार्टीमा अवसरवाद जन्मिएको बताएका छन् ।
‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ’, उनले भने । अवसरवादलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताउँदै महासचिव पोखरेलले थपे ‘अवसरवादलाई परास्त गर्न वैचारिक र राजनीतिक आन्दोलनलाई अघि बढाउनु पर्दछ’ ।
कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने उनले बताए । कुनै पनि उद्देश्यको लागि साङ्गठानिक शक्ति आवश्यक पर्ने महासचिव पोखरेलले बताए । नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कारका कारण देश नबनेको उनको जिकिर छ । उनले भने ‘काम जति नपढेका मान्छेलाई लगाउने, पढेका जति ठालु पल्टने, अन्त कतै यस्तो हुन्छ ?, के कारणले हाम्रो देश बनेन भन्ने कुरा यसैले पुष्टि गर्छ’ ।
कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने उनको धारणा छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्र निक्कै कमजोर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षामा जोड दिनुपर्ने महासचिव पोखरेलले बताए ।
प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनुपर्ने उनको धारणा छ । नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीब्र विकास हासिल गर्ने महासचिव पोखरेलको भनाइ छ । सरकार फेरबदल भइरहने कुराले जुन रूपमा नेपाल अघि बढ्नुपर्ने हो त्यो हिसाबले अघि बढ्न नसकेको उनले बताए ।
विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको बताउँदै महासचिव पोखरेलले विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राखे । देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेकाले अहिले देशका ठुला दुई राजनीतिक दल मिलेर सरकार बनाएको उउनले प्रष्ट पारे ।
नेपालमा साना पार्टीले ठुला पार्टीलाई घुर्क्याएर शासन गर्ने गलत संस्कार सुरु भएको र म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठुला दलमाथि माओवादीले शासन गर्न सुरु गरेपछि दुई दल मिलेका महासचिव पोखरेलले स्पष्ट पारे । ‘हामी शासन गर्नको लागि मात्र होइन, अहिले सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि हामी मिलेका हौँ’, उनले भने ।




प्रतिक्रिया