०८४ को चुनावमा कांग्रेसको बहुमत नआउने देउवाको खुलासा, सबैभन्दा ठूलो पार्टी बन्नेगरि काम गर्न निर्देशन


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीको बुहमत नआउने स्थिति रहेको बताएका छन् । सोमबारबाट भैरहवामा सुरु भएको देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले अहिलेकै अवस्थामा पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् ।

‘बहुमत ल्याउन नसकेता पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने।उनले कांग्रेसलाई जीवन्त पार्टीका रूपमा अघि बढाउनुपर्ने पनि बताए। ‘कांग्रेसका प्रति देशभित्र र बाहिर आकर्षण छ,’ उनले भने।

कांग्रेसको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि भैरहवामा सुरु भएको प्रशिक्षणमा १६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई प्रशिक्षण दिइने कांग्रेसले जनाएको छ ।