रेडियोलोजिस्ट एशोसिएशनको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न, डा.कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति


काठमाडौं, २५ फागुन । नेपाल रेडियोलोजिस्ट एशोसिएशनको सातौं राष्ट्रिय सम्मेलन फाल्गुन २३ र २४ गते बिराटनगर-इटहरीमा सम्पन्न भएको छ। पहिलो र दोस्रो दुवै दिन राष्ट्रिय तथा अंतर्राष्ट्रीय विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा विदेश तथा नेपालका गरी ३० जना रेडियोलोजिस्टहरुले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेका थिए भने केही कार्यपत्र भर्चुअल माध्यमबाट पनि प्रस्तुत भएका थिए।

एशोसिएशनको सातौं सम्मेलन (RADCON 2025 ) को मुल नारा “Recoiling The Clinician In The Radiologist: Refining Fetal To Adult Imaging” रहेको थियो। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुइ सयभन्दा बढी रेडियोलोजिस्ट चिकित्सकहरुको उत्साहजनक सहभागिता रहेको एसोसिएसनका कोशी प्रदेशका अध्यक्ष तथा मूल आयोजक समितिका सभापति प्रा.डा. मनोज भट्टाराईले बताए ।

प्री-कन्फरेन्स कार्यशाला, कार्यपत्र प्रस्तुतिहरू र प्यानल छलफलहरूमार्फत यस पटकको RADCON भव्यता साथ सम्पन्न भएको कार्यक्रमका मूल आयोजक समितिका महासचिब डा. मनीषराज पाठकले बताए । यसका साथै एशोसिएशनको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । डा. तेजेन्द्र कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।एशोसिएशनको उपाध्यक्षमा डा.कृष्ण बुढाथोकी, महासचिवमा डा.सरोज राज केसी ,सहसचिवमा डा.नवराज रानाभाट चयन भएका छन् ।

यस्तै, कोषाध्यक्षमा डा.रोशना खड्का, सहकोषाध्यक्षमा डा. राजेन्द्र चौधरी, सदस्यहरुमा डा.निशान्त मिश्रा, डा.अम्बिका पोखरेल र डा.सुस्मित काफ्ले चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ । नेपालका सम्पूर्ण रेडियोलोजिस्टहरुको एउटै छाता संगठनको रुपमा रहेको नेपाल रेडियोलोजिस्ट एशोसिएशनले समस्त रेडियोलोजिस्टहरुको हक, हित र अधिकारको निरन्तर सुनिस्चितता गर्दै आएको छ ।