डा.शर्माको अर्को उदाहरणीय कार्यः उपचार नपाएर तड्पिरहेका नोस्तहिमको केएमसीमा निःशुल्क उपचार


काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर तड्पिरहेका बाराको प्रसौनी गाउँपालिका–३ नौतनका ३२ वर्षीय नोस्तहिम मियाको निःशुल्क उपचार गरिदिने भएका छन् । मियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि कांग्रेस बारा क्षेत्र नम्बर–४ का सभापति सुनिलप्रसाद गुप्ताले डा.सुनिल शर्मासँग उनको उपचारको लागि आग्रह गरेका थिए । सांसद शर्माले आग्रह स्वीकार्दै काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उनको निःशुल्क उपचारको व्यवस्था गरेका हुन् ।

सांसद डा. सुनिल शर्मा प्रतिनिधि सभाका एक मात्र सांसद हुन्, जसले आफ्नो तलब(भत्ता लिँदैनन्। उनले नेपालका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी लाखौँ गरिब तथा असहायलाई सेवा प्रदान गर्दै आएका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा जुनसुकै पार्टीका नागरिक भए पनि नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था गरेका छन्।

डा.शर्माले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गर्दै आइरहेका छन्। मियाका लागि गरिएको यो सहयोग सांसद शर्माको सामाजिक सेवाप्रतिको प्रतिबद्धताको अर्को उदाहरण बनेको छ।

नोस्तहिमकी श्रीमती शाहबुन खातुनले श्रीमानको उपचार गराउन समाजसँग सहयोगको अपिल गरेकी थिईन्। उनका अनुसार श्रीमानलाई पथरीको समस्या भएपछि भारतको खैरावास्थित अस्पतालमा शल्यक्रिया गरिएको थियो। तर, शल्यक्रियापछि पनि समस्या निको नभएपछि उनीहरू आर्थिक संकटका कारण उपचार गराउन सकिरहेका थिएनन् ।

शल्यक्रियापछि थप समस्या देखिएपछि मियालाई बिरगञ्जको नारायणी अस्पताल र तराई अस्पतालमा उपचार गराइयो, तर सुधार भएन। त्यसपछि चितवनको भरतपुर लगेर क्यान्सर अस्पतालमा जाँच गराउँदा चिकित्सकले उनको मिर्गौला र लिभरमा समस्या रहेको बताएका थिए।

खातुनका अनुसार, परिवारसँग भएको सबै रकम उपचारमा खर्च भइसकेको छ। थप उपचारका लागि काठमाडौं लैजानुपर्ने भए पनि आर्थिक अभावका कारण उनीहरू घर फर्किन बाध्य भए। हाल घरमा रोजगारी गर्ने कोही नभएकाले औषधि किन्न र दैनिक भोजन जुटाउन समेत समस्या रहेको खातुनले बताइन्।

चार साना छोराछोरी रहेको खातुनले गाउँका छिमेकीहरूले दिएको थोरै–थोरै आटा र चामलले आफ्नो परिवारको जीवनयापन चलिरहेको बताइन्। उनका अनुसार, श्रीमान्ले गाडी चलाएर परिवार पाल्दै आएका थिए । तर बिरामी भएपछि घरको सम्पूर्ण दायित्व आफूमाथि आएको छ।