आलोचनाबाट डराएको हो भने सरकारले सोसल मिडियाबाट लाइक, सेयर र कमेन्टको अप्शन हटाए हुन्छ : प्रभु साह


काठमाडौं, २७ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिभिन्न विदेशी सोसल मिडियालगायतका डिजिटल प्लाटफर्म र एप्सहरुमार्फत बर्षेनी नेपालबाट राज्यको खरबौ रकम विदेशिने गरेको भन्दै त्यसबारे सरकारसँग जवाफ मागेका छन् । सोसल मिडिया प्रयोग गरेबापत नेपालीहरुले वर्षेनि ठूलो मात्रामा रकम खर्चिएको भन्दै सरकारसँग साहले जवाफ मागेका हुन् ।

प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा बोल्दै सांसद साहले संसारका अन्य मुलुकले जस्तै समाजको आवश्यकत्ताअनुसार एप्स बनाउने नेपाल सरकारको आफ्नै योजना छ कि छैन ? भन्ने प्रश्न समेत गरे । ‘सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्वीटर, गेमिङ, कमर्सियल एप्स, सवारीसँग सम्बन्धित इनड्राइभ लगायतका एप्सबाट वर्षेनी नेपालबाट खर्बौं विदेशिँदै गईरहेको छ । यो रोक्ने योजना सरकारसँग छ कि छैन ?’ साहले प्रश्न गर्दै भने, ‘नेपाल सरकारले आफै एप्सहरु निर्माण गर्नै नसक्ने हो ? विदेशी एप्स जसरी हामीले चलाउँछौं के हामीले निर्माण गरेको एप्सहरु विदेशीले चलाउन नमिल्ने हो र ?’

अहिलेको अवस्थामा व्यापारी र बैंकबाट जो ऋण लिईन्छ त्यसको व्याजवापत जसरी नेपाली रुपैया विदेशीदै गईरहेको छ त्यसको कयौं गुणा बढी विदेशी एप्सहरुले नेपाली रुपैया बिदेश गईरहेकाले त्यसलाई रोक्न सरकारसंग के योजना छ ? भन्दै उनले प्रश्न उठाए । सरकारले ती एप्सहरुलाई नियमन गर्नुपर्ने भएपनि नियन्त्रण गर्ने र नेपालीहरुको मुख थुन्नका लागि सामाजिक सञ्जालसम्बन्धीको बिधेयक ल्याएर संविधानमा भएको वाक स्वतन्त्रतालाई हनन गर्न खोजेको आरोप उनले लगाए ।

‘सरकारले जुन सामाजिक सञ्जालसम्बन्धी बिधेयक अगाडि बढाएको छ त्यो सत्ता जोगाउन, स्वार्थका लागि हो ? सामाजिक सञ्जालका क्षेत्रलाई नियमन गर्न खोजिएको हो की प्रयोगकर्तालाई नियन्त्रण गर्नका लागि हो ? सामाजिक सञ्जाललाई नियमन गर्नुको साटो नियन्त्रण गर्न खोज्ने दिशामा जुन सरकार अगाडी बढेको छ, त्यो चिन्ताजनक बिषय हो । खेदजनक बिषय हो’, साहले भने ।

पूर्वमन्त्री साहले अहिले सामाजिक सञ्जालका सञ्चालकलाई नियन्त्रण गर्ने की प्रयोगकर्तालाई भन्ने प्रश्न गम्भिर रुपमा उठेको सुनाए । प्रयोगकर्तालाई प्रतिक्रियाबिहीन बनाईदिने सामाजिक सञ्जालमा लाईक, कमेन्ट, सेयर गर्न पनि नहुने तर कमेन्ट गरे जेल जानुपर्ने गरी बिधेयक अगाडी बढाउनुले सरकार मनोमानी ढंगले अगाडि बढ्न खोजेको उनको आरोप छ ।

‘हिजो परापुर्वक र पौराणिककालमा भगवानको पनि आलोचना मान्छेहरुले गर्दथे । रामको आलोचना गरेको हामीले रामायणमा सुनेका छौं । महाभारतमा कृष्णको आलोचना गरेको हामी सुन्छौं । हिजोका दिनमा राजामहाराजा, राणाको पनि आलोचना गर्दथे, टिप्पणी गर्दथे । तर आज संविधानमा वाक स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ, बोल्न पाउने अधिकार भएपनि बोलेबापत दण्डित हुनुपर्ने, कारवाही भोग्नुपर्नेगरि विधेयक आउनु खेदपूर्णछ, भत्र्सनायोग्य छ’, साहले भने ।

यदी सरकार आलोचनाबाट डराएको हो भने सामाजिक सञ्जालका सञ्चालकसंग कुरा गरेर सामाजिक सञ्जालमा रहेको लाईक, सेयर, कमेन्टजस्ता अप्सन नै हटाउन लाग्दा पनि राम्रो हुने कटाक्ष उनले गरे । उनले भने,‘सरकारले सामाजिक सञ्जालका सञ्चालकसंग नै कुरा गरेर त्यसमा रहेको लाईक, कमेन्ट, सेयर जस्ता अप्सन हटाउन लगाईदेओस् । किनभने नेपालमा राजामहाराजाको शासन छ । नेपालमा कथित लोकतन्त्र छ भन्ने कुरा खुलेयाम चिठीपत्र गर्दा हुन्छ ।’