काठमाडौं, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले अहिले सरकार नियन्त्रणमुखी बाटोमा गैरहेको बताएकी छिन् । उनले सरकार उदाउँदै गरका नयाँ आवाजहरुलाई दमन गर्न उद्दत रहेको आरोसमे लगाएकी छिन् । गौतमले सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा रहेको टिप्पणी गरेकी छिन् ।
उनले सरकारले सदन, सडक ,सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सकेपछि जनताको चेतना नियन्त्रण गर्न नसक्ने ठोकुवा गरेकी छिन् । उनले लोकतन्त्रको असली खतरा अरू कोही नभएर सरकार आँफै भएको पनि दाबी गरिन् । आजको प्रतिनिधिसभा बैठकमा आफूले उठाएको विषयबारे प्रकाश पार्दै सांसद गौतमले फेशबुकमा लेखेकी छिन्–
मैले पटकपटक भनेको छु— सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ। म देख्छु, सरकार अत्यधिक सतर्क, असहिष्णु, र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ।
यसले के देखाउँछ? सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा छ! तर, यो संकट सरकार आफैं निम्त्याएको हो।
सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरवार बनायो! उदाउँदै गरेका नयाँ शक्ति— जो यही गणतन्त्रमा जन्मिए, हुर्किए, र लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे, — उनैलाई झूटो मुद्दा लगाएर दमन गरिरह्यो।
सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारहरूको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने— यी सबै नियन्त्रणमुखी शासनका लक्षण हुन्।
सरकारले सदन, सडक ,सामाजिक सञ्जाल, सबै नियन्त्रण गर्न सक्ला — तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन!
लोकतन्त्रको असली खतरा अरु कोही होइन सरकार आफैं हो। सबैको विचार अट्ने व्यवहार गर्नुस् नत्र परिणाम जनताको पक्षमा हुनेछ! सरकारलाई नयाँ पुस्ताको चेतावनी हो! धन्यवाद!




प्रतिक्रिया