काठमाडौं, २८ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा गर्न नसुहाउने टिप्पणी गरेका छन् । सरकार गठन भएको नै ८ महिना बितिसकेको उल्लेख गर्दै अहिलेसम्म मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक नगर्नुले सुशासनमाथि प्रश्न उठाएको उनको भनाई छ ।
प्रतिनिधिसभामा आज पेस हुन लागेको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना राख्दै सांसद साहले आफ्नो सम्पत्ति सार्वजनिक गर्न नसक्ने सरकारले कसरी सुशासनको कुरा गर्न सुहाउँछ भन्ने प्रश्न उठाए ।
सांसद साहले सुशासनका लागि पारदर्शिता आवश्यक पर्ने भएपनि वर्तमान सरकार कुनै पनि विषयमा पारदर्शी नभएको आरोप लगाए । उनले भ्रष्टाचार गरेको सम्पत्ति वैध बनाउन विधेयक ल्याउन लागिएको गम्भीर आरोपसमेत लगाए ।
उनले अहिले देशमा कर आतंक रहेको आरोप लगाए । उनले भने,‘सरकारपिछे सरकारको कर आतंकले हाम्रो अर्थतन्त्र धराशयी हुँदै गएको छ । महँगी आकाशिएको छ । उद्योग तथा व्यवसाय चौपट भएका छन् । व्यापार घाटामा छ । जनताको जनजीवन कष्टकर बनेको छ । कर लिएबापत सरकारले त्यसको बदलामा जनतालाई सुविधा दिएको छैन् ।’
उनले विश्वमै नेपाल सबैभन्दा बढि ट्याक्स लिने देशमा चिनिएको तर त्यसको बदलामा जनतालाई केही पनि सुविधा नदिएकोमा आक्रोश पोखे । भारत र चीनभन्दा नेपालमा चार गुणा बढि कर लिईएको भन्दै उनले त्यसको बदलामा जनतालाई चार गुणा बढि सुविधा दिनुपर्ने साहको सुझाव छ । उनले जनतालाई सुविधा दिनेगरि कानून, नियम बनाउनुपर्ने पनि राय राखे ।




प्रतिक्रिया