आरके मैनालीले सुनाए सपनामा केपी ओली बारम्बार आएको कुरा


काठमाडौं, २९ फागुन । पूराना वामपन्थी नेता राधाकृष्ण मैनालीले अहिले सपनामा बारम्बार केपी शर्मा ओली आउन थालेको सुनाएका छन् । नेता मैनालीसँगको भेटवार्ताको प्रसंग सुनाउँदै एमाले नेता विष्णु रिजालले ओलीबारे मैनालीका तीन प्रसंग भन्दै साझा गरेको कुरामा यो विषय उल्लेख गरिएको छ ।

भर्खरैमात्र पनि ओलीसँग सपनामा कुरा भएको मैनालीले सुनाएका छन् । आफूले मनमोहन अधिकारी र भरतमोहन अधिकारीसँग कुरा गरिरहेको बेलामा ओलीपनि सपनामा आएको मैनाली भनेको कुरा रिजालले लेखेका छन् ।

ओलीबारे मैनालीले सुनाएका प्रसंग भन्दै रिजालले फेशबुकमा लेखेका छन् ।

प्रधानमन्त्री केपी ओलीबारे आरके मैनालीका तीन प्रसंग

हिजो पारिवारिक विवाहका सन्दर्भमा सितापाइला पुगेको बेला नजिकै रहेको र आफू पहिले पनि गएको घर भएकाले राधाकृष्ण मैनालीलाई फोन गरेर मित्र नेत्र विष्टसहित म उहाँको घर पुगेर गफिँदाका उहाँले व्यक्त गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगका तीनवटा प्रसंग रमाइला लागेः

१. मान्छे बुढो हुँदै गएपछि भेट नभए पनि पुराना दिनका मित्रहरु नै सपनामा आउँदा रहेछन् । केपी ओलीसँग भेट नभएको धेरै भयो तर बारम्बार सपनामा आइरहन्छन् । हिजो राती सपनामा पनि उनीसँग कुराकानी भइरहेको थियो । मनमोहन र भरतमोहनसँग कुरा गरिरहेको बेला उनी आइपुगे ।

२. जेलमा बस्दादेखि नै केपी ओलीको साहस अदम्य थियो । अल्सरलगायतले गलेर आफैँ शौचालय जान सक्थेनन्, धुन सक्थेनन् । हामीले गरिदिन्थ्यौँ । राती पल्लोपट्टि सुतेको बेला क्या। यज्ञबहादुर थापाले ‘ओलीजी’ भनेर बोलाउँदा ‘हुँ’ मात्र गर्थे, बोल्दैनथे । अनि विहान उठेर भन्थे, ‘तिमीहरुले मलाई मर्यो कि मरेन भन्नलाई बोलाएका हौ । म कहाँ यत्तिकै मर्छु ? मर्नै मिल्दैन । क्रान्ति अधुरै रहन्छ ।’

३. मदन भण्डारीको निधनपछि मैलै र वामदेवले केपीलाई भेटेर ‘तिमी महासचिव बनु भन्यौँ, उनले मानेनन् । पछि माधव नेपाललाई महासचिव बनाएको केही समयपछि उनबाट पार्टी चल्ला जस्तो लागेन र केपीको मन बदलियो कि भनेर फेरि वामदेव र म उनको पाटनस्थित डेरामा गएर ‘केपी, तिमी महासचिव बनु भन्यौँ । उनले म अहिले हुन्न, तुरुन्तै महासचिव बदल्नु उचित पनि हुन्न, माधवलाई नै सहयोग गरेर जानुपर्छु भनेर महासचिव बन्न मानेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका मित्रताका धेरै पाटाहरु छन् । हामीसँग गरेका कुरामध्ये आफूलाई रमाइला लागेर यी प्रसंग उल्लेख गरेको हुँ ।

एउटा संयोग– केही दिनअघि भानुभक्त ढकाल दाइ, मीन शाही र म बालुवाटार पुगेको बेला प्रसंगबश प्रधानमन्त्रीले वामदेव गौतम र आरकै मैनाली आफूलाई महासचिव बन्न प्रस्ताव लिएर आएको कुरा उल्लेख गर्नुभएको थियो, हिजो आरके मैनालीले पनि त्यही प्रसंग निकालेर लामो व्याख्या गर्नुभयो ।

राजनीति उहाँको ठाउँमा छ । व्यावहारिक र मलाई पहिलेदेखि नै माया गर्ने ७८ बर्षका आरके मैनालीज्यूलाई समय र पुराना प्रसंगका लागि धन्यवाद !