प्रचण्डको होली मनाउने कार्यक्रम छैन, शक्ति बस्नेतको बुवाको १३औं पुण्यतिथिमा सहभागी हुने


काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं आईपुगेका छन् । हिजो बुटवलमा आयोजित एक कार्यक्रममा सरिक भएर दाहाल आजमात्रै काठमाडौं फर्किएका हुन् ।

उनी हिजै आउने भनिएको थियो । आज फागु पर्व । देशव्यापी रुपमा होली खेलेर मनाईएको छ । तर, प्रचण्डको भने होलीविशेष कुनै कार्यक्रम राखिएको छैन । उनी आज निवासमै आराम गरेर बस्ने जनाईएको छ । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री शक्ति बहादुर बस्नेतको बुवाको १३औँ पुण्य तिथिमा भने प्रचण्ड सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

दाहालले फागु पूर्णिमा (होली पर्व) को भने शुभकामना दिएका छन् । उनले होलीले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवम् अन्तरघुलनलाई प्रतिनिधित्व गर्ने जनाएका छन् । उनले होलीले सबैसँग सद्भाव बढाउने विश्वास लिएका छन् । यस्तो छ दाहालको शुभकामना सन्देश :

होली पर्वको शुभकामना
आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा ९होली पर्व० २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सास्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन् । होली पर्वको अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।