काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपालको लोकतान्त्तिक आन्दोलनमा रिपोर्टर्स क्लब नेपालको अग्रणी भूमिका रहेको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको लोकतान्त्तिक आन्दोलनलाई पत्रकारिता जगतले जसरी मद्दत गरेको थियो, त्यसको अगुवा रिपोर्टर्स क्लब थियो ।’
नेता श्रेष्ठले संसद् र संसदीय समितिले भन्दा बढी प्रतिपक्षको भूमिका खेलेर पत्रकारिता जगतले सरकारलाई अङ्कुश लगाइरहेको पनि उनले बताए । ‘हामीले देखेका छौं नेपालमा अरु पुँजीवादी, समाजवादी देशको जस्तो लोकतान्त्रिक व्यवस्था फस्टाइसकेको छैन । आज हामी संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्थामा आयौं । नेपालमा संसद् र संसदीय समितिले भन्दा बढी प्रतिपक्षको भूमिका खेलेर सरकारलाई अङ्कुश लगाउने काम पत्रकारिताले गरेको छ,’– उनले भने ।
साथै, नेता श्रेष्ठले अहिले फेरि पनि नेपालमा विभिन्न कोणबाट प्रतिगामीहरु सल्बलाइरहेको बताए । राजसंस्था फर्काउन सकिन्छ कि, धर्मनिरपेक्षतालाई उल्ट्याउन सकिन्छ कि संघीयतालाई सकाउन सकिन्छ कि भनेर उनीहरु लागिरहेको उनले बताए । राजतन्त्र र जनताको बीचमा चलेको संघर्षमा कहीँ पनि राजाले नजितेको बताउँदै उनले नेपालमा पनि जनताकै जित हुने बताए । प्राप्त व्यवस्था उल्ट्याउने सपना नदेख्न राजावादीहरुलाई उनले चेतावनी दिए ।




प्रतिक्रिया