काठमाडौं, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले तीनकुनेको हिंसात्मक प्रदर्शन सरकारको घुसपैठबाट भएको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजवादीहरुको आन्दोलनमा सशक्त प्रतिकार गर्नु भन्ने निर्देशन दिएकाले सो हिंसात्मक घटना भएको बताएका हुन् ।
‘यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ । प्रधानमन्त्री ओलीले जसरी निर्देशन दिनुभयो– सशक्त प्रतिकार गर्नु भनेर । प्रधानमन्त्रीको रूपमा राज्यको तलब खाएर बसेको व्यक्तिले हिंसा भड्काउने अभिव्यक्ति दिन हुन्थ्यो कि हुँदैन थियो ?’ प्रश्न गर्दै उनले भने ।
राप्रपा महामन्त्री पाठकले उक्त घटनाको छानविनका लागि स्वतन्त्र न्यायिक आयोग गठन हुनुपर्ने माग गरे । उनले उक्त घटना हुनुमा रान्यको सुरक्षा संयन्त्रको पनि दोषी रहेको बताए । ‘स्वतन्त्र न्यायिक आयोग गठन हुनुपर्छ । राज्यको घुसपैठ छ त हामीले भनिरहेका छौं । हरेक आन्दोलनका घुुुसपैठ हुने सम्भावना हुन्छ । चार÷पाँच हजार मान्छे भेला भएको भनिएको छ । चार हजारको जनमासमा उत्तेजना फैलियो भने नियन्त्रण गर्न नसक्ने राज्यको संयन्त्र त्यति निकम्मा ?’ राप्रपा महामन्त्री पाठकले प्रश्न गर्दै भने ।




प्रतिक्रिया