काठमाडौं, १८ चैत । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा शर्माले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताएकी छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्रतिर जाने कुरा विकल्प नभएर पश्चगमनमात्रै रहेको बताएकी हुन् । पश्चगमनको पक्षमा आफूहरु यसअघि केहिले पनि नरहेको र नहुने पनि बताए । संघीय लोकतान्त्रिक गणतन्त्रमा बदलिएको परिवेशअनुसार जनताको जीवनस्तर बदल्न सक्नुपर्ने उनले बताईन् । जनताको जीवनस्तर बदल्ने एकमात्रै कडी सुशासन रहेको र सरकार त्यसतर्फ लाग्नुपर्ने उनले बताईन् ।
उनले तीनकुनेको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह र कथित जनकमाण्डर दुर्गा प्रसाईँलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत सरकारसँग माग गरिन् । नेतृ शर्माले उक्त आन्दोलनको घटना र पर्दा पछाडि ज्ञानेन्द्र शाह रहेको उनको ठोकुवा छ ।
‘तीनकुनेको प्रदर्शनको प्रत्यक्ष कमाण्ड कथित कमाण्डर दुर्गा प्रसाईँले गरेका छन् । तर, हामी सबैले के बुझेका छौं भने यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन् । उनको उक्साहटमा, उनले पटक–पटक गरेका आह्वानमा, अपिलमा युवाहरु समाहित भएका छन् । म सरकारसँग सभामुखमार्फत के माग गर्न चाहन्छु भने– राजतन्त्र अहिलेको व्यवस्था होईन । संविधान भन्दामाथि कोही छैन । कानुनभन्दा माथि कोही छैन । त्यसकारण चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय, अहिले लुकेर बसेका दुर्गा प्रसाईँ हुन् । सबैलाई कारबाही गरोस्,’– उनले भनिन् ।
उनले अहिलेको राजतन्त्र कि गणतन्त्र भन्ने प्रश्न नै बेकाम रहेको बताईन् । माओवादीले गरेको १० वर्ष सशस्त्र संघर्षको जगमा २०६२/०६३ सालको जनआन्दोलन भएको र आफूहरु राजतन्त्र फाल्नकै लागि १० वर्ष जनयुद्ध लडेको बताउँदै उनले व्यवस्थालाई चुनौति दिने कुरा स्वीकार्य नरहेको बताईन् ।
‘अहिले गणतन्त्र कि राजतन्त्र ? यो बहस गर्ने ठाउँमै अहिले हामी छैनौं । किनभने संघीय लोकतान्त्रिक गणतन्त्र हामीले निरङ्कुश राजतन्त्रको विरुद्धमा लडेर ल्याएका हौं । यो लडेर ल्याएको व्यवस्थामा हामी सबैको अपनत्व छ । २०६२/०६३ को आन्दोलन १० वर्षे जनयुद्धको जगमा भएको थियो । त्यो आन्दोलन बगेको हजारौं जनताको रगतको प्रतिफल स्वरुप यो गणतन्त्र प्राप्त भएको हो,’– उनले भनिन् । File Photo/RN




प्रतिक्रिया