सहकारी ठगी मुद्दामा फरार सांसद गीता बस्नेतले पठाईन् उपचारमा रहेको सूचना, सांसदहरुले जनाए स्वीकृति


काठमाडौं, १९ चैत । सहकारी ठगी मुद्दामा फरार रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद गीता बस्नेतले संसद्मा आफू स्वास्थ्योपचारमा रहेको सूचना पठाएकी छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसद बस्नेत स्वास्थ्योपचारमा रहेको सूचना पढेर सुनाएका थिए । उक्त सूचनामा सांसद्हरुले स्वीकृति जनाएका छन् ।

सांसद बस्नेत २०८१ माघ १८ गतेदेखि चैत १९ सम्म बसेका २७ वटा बैठकमा अनुपस्थित छिन् । नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा उनको नाम मुछिएको छ । उनीविरुद्ध गत वैशाख १४ गते पक्राउ पुर्जी जारी भइसकेको छ । सांसद बस्नेतले सहकारीको पैसा आफू सञ्चालक रहेको रिसोर्टमा लगानी गरेर दुरुपयोग गरेको पाइएको बताइएको छ । सांसद बस्नेत फरार रहेपनि उनले उनले यो बीचको तलबभत्तासमेत बुझेको पाइएको छ ।

उनले नवलपरासी छिपछिपे सहकारीबाट ९६ लाख, चितवनको सनराइज सहकारीबाट करिब ९ करोड र बर्दियाको नमस्ते सहकारीबाट २५ लाख अपचलन गरेको आरोप छ ।