न्यायलयको आदेशको उच्च सम्मान छ, तर रविजीको गिरफ्तारीको प्रक्रिया लाजमर्दो थियोः रास्वपा नेता पराजुली


काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया लाजमर्दो रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अदालतको आदेशप्रति आफूहरुको उच्च सम्मान रहेको तर पक्राउ प्रक्रिया भने लजमर्दो रहेको बताएका हुन् ।

लामिछानेलाई पक्राउपुर्जी अथवा अदालतको आदेशको पूर्णपाठविना जबर्जस्ती आएर उठाएर लिएर गएको उनले बताए । ‘रविजीले म गिरफ्तारी दिन्छु भन्नु भएको थियो । केही समय दिनुस् भन्दै हुनुहुन्थ्यो । उहाँ आफ्नो निवासबाट भागेर, देश छोडेर जाने आँकलन थियो ? हामीले संयमतासहित प्रहरीहरुसँग संवाद गर्दैगर्दा उहाँहरुको आदेश लाजमर्दो थियो । कानुन हातमा लिएकाहरुले र्दिएको आदेश साँच्चै लाजमर्दो थियो,’– उनले भने ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेश खारेज गर्दै थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेशपछि लामिछाने हिजो (शुक्रबार) बेलुका नै पक्राउ परिसकेका छन् ।