काठमाडौं, २३ चैत । पूर्वराजदूत एवं कूटनीतिज्ञ विजयकान्त कर्णले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको सौहार्दपूर्ण भेटले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल र भारतबीचमा व्यापारदेखि लिएर सांस्कृतिक, राजनीतिक, धार्मिक, आर्थिक सबै किसिमको सम्बन्ध विशिष्ट खालको रहेको बताए ।
प्रधानमन्त्री ओली र मोदीबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनपछि थाइल्याण्डको बैंककमा ‘वान टू वान’ वार्ता भएको थियो । ओली–मोदीबीचको भेटवार्तापछि नेपाल–भारतबीच बिग्रिएको सम्बन्धमा सुधार आएको विश्वास लिइएको छ । कूटनीतिज्ञ कर्णले उक्त भेटले प्रधानमन्त्री ओलीको भारत भ्रमण चाँडै हुने संकेत गरेको बताए । ‘नेपाल र भारतको प्रधानमन्त्रीको भ्रमण हुनसक्ने सम्भावनाहरु देखिन्छ । मलाई लाग्छ, प्रधानमन्त्री खड्गप्रसाद ओली छिट्टै दिल्ली जानुहुन्छ भनेजस्तो संकेतहरु देख्छु,’– उनले भने ।




प्रतिक्रिया