आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीहरुको जायज माग सम्बोधन गर्न ढिला गर्नुहुन्नः कांग्रेस नेता साउद


काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीहरुको जायज माग सम्बोधनका लागि ढिला गर्न नहुने बताएका छन् । सन्तुष्ट शिक्षकहरुबाट मात्रै गुणस्तरीय शिक्षाको सुनिश्चितता सम्भव हुने नेता साउदको भनाइ छ । उनले सामुदायिक शिक्षा सुधार र शिक्षक कर्मचारीका जायज मागहरुका सम्बन्धमा आफूसदैव संगै रहनेसमेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘संसद्को बिषयगत समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा बिधेयकका केहि बिषयमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आव्हानमा आन्दोलनरत शिक्षक साथीहरुका जायज मागहरु सम्बोधन गर्न ढिला गरिनु हुन्न । शिक्षा देशको समृद्धिको आधार हो शिक्षाको सुधार विना मुलुकको प्रगती हुन सक्तैन । सन्तुष्ट शिक्षकबाट गुणस्तरीय शिक्षाको सुनिश्चितता सम्भव हुने हुँदा शिक्षक कर्मचारीहरुका समस्याहरु समाधान गरि मुलुकलाई समृद्धितर्फ डोर्‍याउन अब ढिला गरिनु हुन्न । सामुदायिक शिक्षा सुधार र शिक्षक कर्मचारीका जायज मागहरुका सम्बन्धमा म सदैव यहाँहरु संगै रहेर सोही बमोजीमको भूमिकामा प्रतिबद्ध छु,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।