देउवासँग ओली ढुक्क


काठमाडौं, २ बैशाख । नेकपा (एमाले) को सचिवालय बैठकमा सरकार परिवर्तनको हल्लाबारे पनि छलफल भएको छ । हिजो (सोमबार) नयाँ वर्ष २०८२ को दिन बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग नेताहरुले विपक्षी दलका नेता पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर चासो राखेका थिए ।

दाहालले अघिल्लो दिनमात्रै चितवन झरेर नयाँ वर्षमा सरकार परिवर्तन हुने घोषणा गरिदिएका थिए । दाहालको त्यस अभिव्यक्तिले राष्ट्रिय राजनीति नै तरंगित बनेको छ । तर, एमाले बैठकमा प्रधानमन्त्री ओलीले दाहालको अभिव्यक्तिमा कुनै दम नभएको भन्दै आफू र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अविश्वास नभएको दाबी गरे ।

एक नेताका अनुसार प्रधानमन्त्री ओलीले कांग्रेस–एमालेबीच भएको सहमतिमा तलमाथि नभएको भन्दै सरकार पूरै अवधि जाने विश्वास दिलाएका छन् । प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरुबाट पनि सरकारको आलोचना सुरु भएको विषयमा पनि धारणा राखेका थिए । ओलीले देउवाले सार्वजनिक रुपमा त परै जाओस आफूसँगको वान टु वान भेटमा पनि सरकारको आलोचना नगरेको बरु राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरेको कुरा स्मरण गराएका थिए ।

ओलीले देउवाले विरोध तथा आलोचना नगरेकोले कांग्रेसमा देउवाबाहेक अरुले आलोचना गर्दैमा केही असर नपर्ने कुरा सम्झाएका थिए । बैठकपछि मिडियालाई प्रतिक्रिया दिने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले पनि प्रचण्डको सरकार ढल्ने अभिव्यक्ति सरकारबाट बाहिरिनुपरेको पीडा र कुण्ठामात्रै भएको भनेर हलुका टिप्पणी गरेका थिए ।

एमाले सचिवालय बैठकको भोलिपल्टै आज कांग्रेस महामन्त्री गगन थापाले अहिलेको सरकारलाई रामराम मात्रै भन्न सकिने भनेर कडा आलोचना गरेका छन् । उनले सरकारले काम गर्न नसकेको र यसको गति ट्रयाक्टरको जस्तो भएको भनेर आलोचना गरेका छन् । कांग्रेस र एमालेबीचको सहकार्यमा समस्या उत्पन्न भएको हो कि भन्ने कुराको संकेत गगनको आजको टिप्पणीले पनि देखाएको छ ।

तर, दुई दलबीचको सहकार्य कति लामो जाने वा नजाने भन्ने विषय ओली र देउवाको निर्णयमा नै भर पर्ने कुरा हो । देउवा पार्टीभित्र संसदीय दल र केन्द्रीय कार्यसमितिमा पूर्ण बहुमत होल्ड गरेर बसेका नेता हुन् । देउवाले निर्णय नलिँदासम्म सरकारमाथि संकट नआउनेमा प्रधानमन्त्री ओली पनि ढुक्क छन् । हिजोको सचिवालय बैठकमा पनि ओलीले त्यही ढुक्क रहेको कुरा सुनाएका थिए । file photo

एमाले सचिवालय बैठकले गरेको निर्णयबारे यसो भनिएको छ–

१.नयाँबर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गरेको छ ।

२.यही वैशाख ९ गते पार्टीको ७६औं स्थापना दिवस व्यापक जनसहभागिताबीच भव्यरूपमा मनाउने । सोही दिन नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका सातजना विशिष्ट व्यक्तित्वहरूलाई ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मान गर्ने ।

सम्मान गरिने व्यक्तित्वहरू क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) हुनुहुन्छ । यसैक्रममा पार्टी केन्द्रबाट प्रकाशित ‘शेल्टर’ नामको पुस्तक विमोचन गरिने छ ।

३.राज्यशक्तिको स्रोत जनता हो, राजकीय सत्ता जनतामा रहेको उद्घोष गरिएको दिन अर्थात् लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ व्यापक युवाहरूको उपस्थितिमा भव्य रूपमा मनाउने निर्णय गरिएको छ ।