काठमाडौं, ६ बैशाख । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेस–एमालेको अहिलेको सरकार नचलेको बरु बसिरहेको टिप्पणी गरेका छन् । सरकार चल्नुको साटो बसिरहेको कुरालाई आम नेपाली जनताले चित्त नबुझाएको उनको भनाई छ ।
आज (शनिबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ मा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘जुन उद्देश्यले यो सरकार बनेको थियो, आर्थिक उन्नति हुन्छ भन्ने थियो, संविधान संशोधन गर्छु भनिएको थियो, सरकारको स्थायित्व दिन्छ भन्ने थियो, यी यावत कुरा अहिले कहीँ गएर रेष्ट गरिएको छ । अहिले नियुक्तीका विवादहरु भैरहेका छन् । नियुक्ती गर्न क्रेज, भएका र राम्रा काम गरेकाहरुलाई हटाएर आफ्नो मान्छे भर्ना गर्ने काम गरियो । सत्तामा हुनेले सबै ठीक छ भन्छन्, तर आम जनताले बेठीक छ भन्छन् ।’
कांग्रेस ठूलो दल भएपनि सहयोगी दलमात्रै बनेको उनको टिप्पणी छ । उनले कांग्रेस र एमालेको सहकार्यमा देखाईएको ७ बुँदे भन्दापनि भित्र भएको सहमति सफल भएको दाबी गरे । सरकार चलाउन बनेको राजनीतिक संयन्त्रमा बसेकाहरुले नेपाली कांग्रेसको ग्रेभयार्ड (चिहान) खनिरहेको पनि उनको खरो टिप्पणी छ । उनले कांग्रेसलाई अहिलेको गठबन्धनबाट बाहिर आउन सुझाव दिएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाबाट पार्टी र देश दुवै नचल्ने टिप्पणी गरे ।
उनले कांग्रेस र एमालेबीच भएको सत्ता साझेदारीको सहमतिपनि पालना हुनेमा आशंका व्यक्त गरे । उनले भने,‘आजसम्म मैले यो जस्तो वीरवलको खिचडी नेपालमा अरु केही देखेको छैन्, आजसम्म कुनै भित्र भएका सम्झौताहरु, कालकोठरीमा भएका सम्झौताहरु लागु भएका छैनन् ।’ देउवाका स्वभावक प्रधानमन्त्री ओलीले राम्ररी चिनेको उल्लेख गर्दै आचार्यले ओलीको स्वभाव चाहीँ देउवाले नचिनेको टिप्पणी गरे ।
अब कांग्रेस र माओवादीको चुनावी एलायन्स भएकोले त्यही गठबन्धन नै स्वभाविक हुने थियो भन्ने धारणा राखे । तर, यो बीचमा गठबन्धन धेरै फेरबदल भएकोले अब हुनुपर्ने चाहीँ मध्यावधि निर्वाचन नै भएको उनको तर्क छ । तर, कांग्रेस, एमाले र माओवादीले मध्यावधि चुनाव फेस गर्न नसक्ने उनको भनाई छ ।
कांग्रेसले सरकार छोडिदिए नै पार्टीको हित हुने उनको भनाई छ । उनले भने,‘यो सरकारबाट कांग्रेसले छोडिदिए हुन्छ, सरकार त बसिरहेको छ नि, नहिँड्ने हात्तिजस्तो, कांग्रेसले छोडे सरकारलाई बचाउन कोही आउला नि, प्रचण्ड नै आउलान, लेफ्ट एलायन्स हुनसक्छ ।’ कांग्रेसले आफ्नो इतिहास जोगाउन, डेमोक्रेसी बचाउन र आफ्नो भविष्य सुनिश्चित गर्नपनि यो सरकारमा एक दिन, एक घण्टापनि बस्न नहुने उनको सुझाव छ । यो सरकार ओलीको सरकार भएको उनको तर्क छ ।




प्रतिक्रिया