काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जीवनको लागि गतिशीलता आवश्यक पर्ने बताएका छन् । एमाले चितवनको भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई हिजो (शुक्रबार) सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) गतिशील पार्टी भएकाले जीवन्त पार्टी भएको बताएका हुन् ।
उनले नेकपा (एमाले) र त्यसका सबै जनसङ्गठन सक्रिय र क्रियाशील हुनुपर्नेमा जोड दिए । नेकपा (एमाले)का कार्यकर्ता नेता हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले उनीहरू अध्ययनशील र बुझेको कुरा प्रवाह गर्न सक्ने हुनुपर्ने बताए । पार्टीमा कमिटी पद्धति, प्रणाली र अनुशासन आवश्यक रहेको बताउँदै अध्यक्ष ओलीले भने–‘जनताले एमालेलाई मन पराएका छन्, जनतामा समस्या नै छैन, एमालेमाथि जनताले आशा, भरोसा र विश्वास गरेका छन्, पार्टीको विचार लिएर एकताबद्ध भएर जनतामा जाने कुरामा समस्या छ ।’
एमाले सक्रिय भयो भने कसैले हराउन नसक्ने बताउँदै अध्यक्ष ओलीले कार्यकर्तालाई हिम्मत र जित्छौँ भन्ने विश्वासका साथ एकताबद्ध भएर लाग्न ओलीले आग्रह गरेका हुन् । एमाले देशलाई दिशा निर्देश गर्ने योजनाका साथ मिसन–२०८४ को अभियानमा जुटेको र यसका लागि पार्टीलाई कसैले पनि पराजित गर्न नसक्ने राष्ट्रिय शक्ति बनाउनुपर्ने उनको भनाई थियो ।
सिङ्गो कम्युनिष्ट पार्टी बनाएर विकासको अभियान चलाएको बेला पार्टी फुटाएर कमजोर बनाउने काम भएको विगत स्मरण गर्दै अध्यक्ष ओलीले अब यो पार्टीलाई कसैले पराजित गर्न नसक्ने शक्ति बनाउनुपर्नेमा जोड दिए । ोलीले भने–‘दुईतिहाइको स्थितिमा पुर्याएको पार्टीलाई मतिभ्रष्टहरूले पटक पटक फुटाए, अहिले पुर्पुरोमा हात लगाएर बसेका छन् । एमालेलाई टर्च बालेर खोज्दा पनि नभेटिने बनाउँछौँ भनेर केही शक्ति लागेका भए पनि एमाले दर्बिलो पार्टी बनेको छ । एमालेलाई कमजोर बनाउने शक्ति आफैँ पराजित हुँदै जानेछन ।’
एमालेका विरुद्ध सामाजिक सञ्जालमा भएको हमला जनताले गरेको नभई विदेशीको पैसामा केही व्यक्ति र शक्तिले गरेका उनको आरोप छ । उनीहरूसँग डराउन कुनै आवश्यकता नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे । नेकपा (एमाले) विकास र सुशासनको काममा ध्यान दिएर अघि बढ्ने पार्टी भएको उनले बताए । ओलीले एमालेका कार्यकर्तामा रिस र अहङ्कार हुन नहुने बताए । म नै जान्ने छु भन्ने अहङ्कार नलिन उनले नेता कार्यकर्तामा आग्रह गरे । उनले भने,‘एमालेको पहिचान विनम्रता हो, हामीले सदस्यता कार्ड देखाएर एमाले हुँ भन्नु नपरोस्, देख्ने बित्तिकै, बाल्ने बित्तिकै र व्यवहार गर्ने बित्तिकै अर्कोले एमाले भनेर चिनोस् ।’




प्रतिक्रिया