शिक्षक आन्दोलनमा सरकार गलत छ भन्ने पुष्टि भयोः वाईसीएल अध्यक्ष सेर्पाली


काठमाडौं, ८ वैशाख । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज सेर्पालीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामाले शिक्षकहरुको आन्दोलनमा सरकार गलत बाटोमा रहेको पुष्टि गरेको बताएका छन् । शिक्षामन्त्री भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी थिईन् । नेपाल शिक्षक महासंघसँग सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरु २० दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।

शिक्षकहरु आफ्नो आन्दोलनबाट ब्याक हुन नमानिरहेको अवस्थामा प्रधानमन्त्री ओली समस्या समाधान गर्ने पक्षमा नदेखिएपछि मन्त्री भट्टराईले नैतिकताको आधारमा राजीनामा बुझाएकी हुन् । अध्यक्ष सेर्पालीले मन्त्री भट्टराईको राजीनामासँगै सरकार गलत बाटोमा रहेको पुष्टि भएको बताए । ‘मन्त्रालयसँग सम्बन्धित शिक्षक आन्दोलन २०औं दिनमा चलिरहेको बेला शिक्षामन्त्रीको राजीनामाले शिक्षक आन्दोलनमा सरकार गलत छ भन्ने पुष्टि भयो । शिक्षकहरुको मागप्रति सरकार तत्काल गम्भीर हुन जरुरी छ । शिक्षकहरुलाई सधैं आन्दोलन गर्न बाध्य बनाएर लाखौं विद्यार्थीहरुको शिक्षा पाउने हक कुण्ठित गर्ने अधिकार राज्यलाई छैन,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने । File Photo/RN