काठमाडौं, १३ वैशाख । सरकार र आन्दोलनरत शिक्षकहरुको वार्ता निष्कर्षविहीन बनेको छ । आज (शनिबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भएको थियो । महासंघका प्रतिनिधिहरुले आफ्नो अडानबाट टसमस नभएपछि कायमै राखेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको छ ।
बैठकपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुले मन्त्रालयमा उपस्थित भएर कुरा राखेको जानकारी गराएका छन् । अग्रगामी विध्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान रहेको र महासंघ उक्त मागबाट टसमस नहुने पनि उनले बताएका छन् ।
आफूहरुसँग विगतमा भएका सहमति कार्यान्वयन गर्दै तत्काल विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरु गत चैत २० गतेदेखि आन्दोलनमा छन् । उनीहरुले आज २५औं दिनको आन्दोलन गरिरहेका छन् ।
शिक्षकहरु लामो समय काठमाडौं केन्द्रीत आन्दोलनमा रहँदा देशभरको पठनपाठन अवरुद्ध भएको छ । नयाँ शैक्षिक शत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना अभियान सुरु नै भएको छैन ।




प्रतिक्रिया