लिडरसीपलाई कमजोर पार्न विभिन्न षडयन्त्र भइरहेकाले सचेत हुन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भैरहेको भन्दै सचेत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शन र सही विचार अंगिकार गरेकाले एमाले पहिलो पार्टी बनिरहेको दाबी गरे ।

आज (आइतबार) मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले एमालेलाई सिध्याउने पटक पटक प्रयास भएको र पार्टी फुटाउन खोजिएको दाबी गर्दै यस्तो बताएका हुन् ।

उनले एमालेको मिशन भनेको चुनाव भएकोले अब ‘मिसन–८४’ मा एमाले राष्ट्रिय शक्ति स्थापित हुने दाबीगरे । ०७९ को निर्वाचनअघि एमालेलाई सिध्याउने र टर्च बालेर खोज्नुपर्ने भनेर भनेपनि एमाले चुनाव जितेर अहिले सरकारको नेतृत्वमा पुगेको उनको भनाई छ । एमाले सिध्यायौं भन्नेहरु अहिले आफू सरकारको नेतृत्वमा पुगेको देख्दा आश्चर्यचकित परेको उनको टिप्पणी छ ।