नीति तथा कार्यक्रम बासी भन्नेहरू नै बासी हुन्, आर्थिक समाधान दिनेगरि कार्यक्रम आएका छन् : एमाले नेता पोखरेल


काठमाडौं, २० बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले समग्र अर्थतन्त्रलाई सुधार गर्नेगरि र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिको प्रकाशमा यो वर्षको नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) आयोजना गरेको विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले भने,‘नीति तथा कार्यक्रम मूलतः नेपालको संविधान र यो सरकार बन्दाखेरि ७ बुँदे सहमतिको प्रकाशमा, अनि राष्ट्रिय योजना आयोगको १५औं योजनाको निर्देनशमा तयार भएको छ । आधारभूतमा यो नीति तथा कार्यक्रम वस्तुवादी भएकोले यसमा शंका गर्न जरूरी छैन ।’

नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समेटिएको उल्लेख गर्दै विरोधको लागि विरोधमात्रै नगर्न विपक्षीहरुलाई सुझाव दिए । उनले भने,‘सरकारले सम्वाद, सहकार्य र सयोजनाको साथ अघि बढ्छौं भनेको छ। शिक्षा क्षेत्रमा पनि सुधारको घोषणा गरिएको छ । सहकारीको विषयमा पनि राम्रो नीति लिएको छ । सहकारीको सवालमा प्राधिकरण गठनदेखि साना वचतकर्ताको वचत फिर्ता गर्ने कुरा गरेको छ ।’

उनले नीति तथा कार्यक्रममा कषि क्षेत्रलाई विगत वर्षझैं उच्च प्राथमिकतामा राखेको र कृषकलाई उद्यमशिल बनाउने कुरा गरेको सुनाए । उनले भने,‘कषिको अनुदानको कुरा गरेको छ, अब किसानले सर्वाधिक मूल्य पाउने स्थिति बनेको छ । गिरिबी निवारण १५ प्रतिशतमा झार्ने कुरा उल्लेख गरेको छ । समग्रमा यो नीति तथा कार्यक्रमले समाजवादको आधार तय गरेको छ । सिद्धान्तसहित आएको छ । रोजगारीको लागि ठीक ढंगले नीति तथा कार्यक्रम बनेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको नाममा राखिने कार्यक्रमलाई अब राष्ट्रको नाममा ल्याईएको छ ।’

उनले मुलुकमा अराजकता र व्यवस्थामाथि चूनौति खडा भएको उल्लेख गर्दै ती चूनौतिलाई सामना गर्न सरकार गम्भीर भएर त्यहीअनुसारको कार्यक्रम ल्याएको स्पष्ट पारे । उनले भने,‘मुलुकमा आर्थिक समाधान गर्नेगरि नीति तथा कार्यक्रम ल्याईएको छ । भ्रष्टाचारको बारेमा शून्य सहनशिलता अपनाएको छ । नीति तथा कार्यक्रम बासी भयो भन्नेहरु नै बासी मान्छे हुन् ।’