डडेल्धुरा, वैशाख २२ । अमरगढी नगरपालिका– ३ डोटी घटालमा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय ‘घटालथान’को अवलोकन तथा घटालथानमा पूजाआजा गर्नेको संख्यामा वृद्धि भएको छ ।
बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि संभावना बोकेको क्षेत्र हो । यसलाई यस क्षेत्रको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ । ‘घटालथान’को अवलोकन गर्ने पर्यटकहरूको संख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए ।
अहिले घटालथानमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थीहरू अवलोकनका साथै यस क्षेत्रमा वनभोज खानका लागि आउने गरेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी तथा बाह्य जिल्लाका र विदेशबाट गरी दैनिक ३०–४० जनाको संख्यामा ‘घटालथान’मा पर्यटकहरू आउने गरेका अध्यक्ष बोहराले बताए ।
‘नेपाल भ्रमण वर्ष, २०२०’लाई मध्यनजर राख्दै घटाल क्षेत्रमा नियमित सरसफाई अभियान, आन्तरिक तथा बाह्य पर्यटकहरूको रेकर्ड राख्ने, यस क्षेत्रको विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने गरेका छौँ’, उनले भने, ‘सुन्दर डोटी घटाल लेखेर घटाल बाबाको फोटो राखी टी–सर्ट बनाउने, मायाको चिनोलगायत कार्य गरिरहेको छौँ ।’
विशेष गरेर मंगलबार र शनिबार घटाल थानमा पूजाआजा गर्नेहरूको भीड लाग्ने गरेको उनको भनाइ छ ।
सदरमुकाम वागबजारदेखि पश्चिम–दक्षिणतर्फ पाँच किलोमिटरको दूरीमा रहेको घटालथानसम्म सडक कालोपत्रे भएसँगै आन्तरिक तथा डडेल्धुरा पुग्ने जो कसैले पनि त्यहाँसम्म पुग्न सजिलो भएको छ । जिल्ला सदरमुकामबाट ‘घटालथान’ पुग्न गाडीबाट १५–२० मिनेट र पैदल एक घण्टा समय लाग्छ ।
जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो वागबजार–आइतबजार–घटाल मन्दिर हो । यस स्थानमा आउन सकिने अन्य वैकल्पिक बाटो चिमिरिकोट–वीरखम्ब–टुँडा–चम्साल हो ।
‘घटालथान’सँगै पश्चिमतर्फ प्यागोडा शैलीमा बनेको असिग्राम मन्दिर पनि रहेको छ । चारैतिर डाँडाले घरेको डोटी घटाल क्षेत्र सम्म परेको डोटी खोला क्षेत्रमा अवस्थित छ ।
डोटी खोलाको बीचमा घटाल बाबाको मूर्ति अवस्थित रहेसँगै ऐतिहासिक ढुङ्गै नौला र ऐतिहासिक हिङलो पिङ पनि रहेकाले घटाल पुग्नेले पिङको आनन्द पनि लिन मिल्छ ।
घटालको महिमा
देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्छन् ।
धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती रहेको र अहिले पनि धामीले ७–८ मुठीजति बालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीय रूपमा प्रचलित छ ।
मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्ने गर्छन् । आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन् ।
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।
पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयवासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन् ।
घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभए तापनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँ जुन देवताको रूपमा पूजित छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको छ ।
घटाल मसानमा बस्ने हुँदा त्यस ठाउँमा सधैँ मूर्दा जलाउने गरेको भनाइ छ । बुढी घटाल नजिक हटगाउँमा धेरै पहिले एउटी वृद्धा ब्राह्मणी बस्थिन् । उनी सधैँ डोटी खोलामा नुहाई देवताको पूजा पाठ गरी नित्य मध्याह्नमा भोजन गर्ने गर्थिन् ।
प्रत्येक दिन त्यस ठाउँमा मूर्दा जलाउने गरेको समयमा पूजापाठ र भोजन गर्ने कुरामा बाधा पर्न गएको रहेछ । एक दिन तिनले घटाल देवतालाई सराप दिन्छिन्– ‘नइ म मद्दो न घटाल सद्दो’ (डोटेली भाषा) अर्थात् न म मर्छु, न त घटाल सर्छ ।
घटाल देवताले तिनलाई परेको असुविधालाई महसुस गरी त्यहाँबाट सरेर पथ्थरकोट भन्ने स्थानमा पुगेको र फेरी त्यहाँबाट सरेर हाल रहेको ठाउँ एकान्त स्थल हुँदा त्यहींँ बसोबास गरेका जानकार बताउँछन्।
त्यहीँ बगेर आएको घट्टको चक्कामा पूजा गर्ने र बलि दिने प्रचलन आएको छ । घटाल देवताले साक्षात शक्ति देखाएका थुप्रै उदाहरणहरू छन् । यिनलाई भीमसेन पत्र घटोत्कच तथा कसैले शिवको रूपमा लिन्छन् । जे भए पनि यी मसानवासी ठूला देउता हुन् भन्ने कुरामा यहाँका भक्तजनहरू विश्वस्त छन् ।
घटाल बाबालाई अनिकाल, रोगव्याधी र प्राकृतिक प्रकोपबाट जोगाउने देउताका रूपमा पनि लिइन्छ । विगतमा जबजब खडेरी परेर अनिकालको अवस्था आयो, त्यति बेला पानी माग्न खलङ्गासमेत विभिन्न गाउँवस्तीका किसान यही घटालथानमा भेला हुने गर्थे भन्ने जनविश्वास रहेको छ ।
‘घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो, घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात् खेतीपातीलाई पुग्ने वर्षा हुन्थ्यो । यो चलन अझै पनि कायमै रहेको छ’, घटालका पुजारी दुर्गादत्त भट्टले भने ।
धार्मिक ग्रन्थमा घटाल
द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पु¥याएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
लडाइँको मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलीयुगमा ख्यातिप्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको भनाइ रहेको छ ।
सदियौँदेखि त्यही मान्यताअनुरूप घटाल बाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका घटालका पुजारी भट्टले जानकारी दिए ।
घटाल बाबाको स्नान परशुराम धाममा
सूर्य ग्रहणका दिन उपयुक्त तिथि र अनुकूल समय मिलाएर घटाल बाबाको स्नान गर्ने समारोह आयोजना हुने गरेको छ । स्नान कार्यक्रम डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने महाकाली किनारको परशुराम धाममा हुने गरेको हो ।
स्नान गर्न जाँदा घटाल बाबाले भित्री मधेसमा सात सुप्पा बालुङ्गो खाएकाले हाल त्यस ठाउँको नाम नै सात सुप्पे राखिएको छ ।
‘घटालका सम्पूर्ण सुनचाँदीबाट बनाइएका विभिन्न वस्तु र गहना तथा भक्तजनले चढाएका बहुमूल्य वस्तुहरू घटालथान नजिकै चम्सालमा रहेको देवघरमा राखिएको छ’, पुजारी भट्टले भने, ‘स्नानका बेला ती सबै वस्तुसहित स्थानीयवासी, धामीहरूको लर्कोसहित पैदलै चुरे पहाड पार गरी परशुराम धाम पुगेर स्नानपछि फर्किने गरिन्छ ।’
यो स्नान यात्रा करिब एक साताको हुन्छ । हाल पनि घटाल बाबाले २ वैशाख विसु मेला (जाँत)का दिन र स्नान गर्न जाँदा बालुङ्गो खाने गर्छन् । घटाल बाबालाई बलि दिनका लागि यहाँ भारतदेखि पूर्व मेची अनि पश्चिम महाकालीसम्मका मानिस पूजाआजा गर्न आउँछन् ।
घटालमा मेला
हरेक वर्ष २ वैशाख, वडा दशैँ र कात्तिक शुक्ल चतुर्दशीमा यहाँ मेला लाग्ने गर्छ । यी मेलाहरू वैशाख, असोज र कात्तिक महिनामा लाग्छन् । यी जात्रामध्ये १ वैशाखमा घटालको सम्पति (देउरो) असिग्राम मन्दिरमा लगेर पूजा गर्ने, २ वैशाखमा देउरोलाई घटालथानमा ल्याएपछि भव्य मेला लाग्छ । श्रद्धालु भक्तजनहरू यी शक्ति सम्पन्न देवताप्रति अपार श्रद्धा र भक्ति प्रकट गर्छन् ।
घटालको गरगहना चम्साल भन्ने गाउँमा राखिने तथा त्यहाँका बासिन्दा भरिया हुने व्यवस्था छ । पूजाको दिनमा देउरोको साथमा धामी झाँक्रीहरू नाचेर बाजागाजाका साथ घटालस्थलमा पूजा सामग्री लगेर पूजा तथा जात्रा सिध्याएपछि पुनः भण्डारमा फिर्ता ल्याउने परम्परा छ ।
यहाँका स्थानीयहरू घटाल देवताको पूजा गरेपछि पानी पर्ने विश्वास गर्छन् । यस मन्दिरमा विशेषगरी शनिबार र मंगलबार दैनिक सय बढी तीर्थालुहरू आउने गर्छन् । मेला भर्नका लागि हजारौँ तीर्थालुहरूको जमघट हुन्छ यहाँ ।
म्युजिक भिडियो छायाङ्कनका लागि रोजाइको ठाउँ ‘घटालथान’
सुदूरपश्चिममा नेपाली चलचित्र र म्युजिक भिडियो छायाङ्कन गर्ने क्रम बढेको छ । डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा रहेका सुन्दर एवम् रमणीय पर्यटकीयस्थलमा म्युजिक भिडियो तथा चलचित्र छायाङ्कन हुने क्रम बढेको छ ।
अहिले विशेषगरी जिल्लाको मुख्य पर्यटकीय क्षेत्र तथा प्रसिद्ध ‘घटालथान’ मन्दिर चलचित्र तथा म्युजिक भिडियो छायाङ्कनका लागि रोजाइको ठाउँ बन्ने गरेको छ ।
‘घटालथान’मा किसान नेता भीमदत्त पन्तको जीवनीमा आधारित भएर बनेको राष्ट्रियस्तरको ऐतिहासिक नेपाली चलचित्र ‘भीमदत्त’, ‘कमलेको बिहे’लगायतका चलचित्रहरू छायाङ्कन भएका छन् । रासस




प्रतिक्रिया