हुलाकी राजमार्गलाई बेवास्ता गरेको भन्दै अर्थमन्त्री पौडेलसँग प्रभु साह फायर, सरकारले विभेद गरेको आरोप


काठमाडौं, ३० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल सरकारको विभेदको कारण हुलाकी सडक निर्माण अलपत्र परेको टिप्पणी गरेका छन् । उनले भने,‘म सरकारलाई सोध्न चाहन्छु–के हुलाकी सडक निर्माण भैसक्यो, निर्माण भएको छैन भने बाँकी खण्डको ठेक्का प्रक्रियामा छ ? आज दुःखका साथ भन्नुपर्छ कि हुलाकी सडकका कयौं खण्डहरु निर्माण बाँकी नै छन्, २५० वटा पुलमध्ये १५० देखि पौने दुई सय पुल बनेका छन्, बाँकी पूल अझै बन्न बाँकी नै छन् । एक हजार किलोमिटरको हुलाकी सडक अहिले ८ सय किलोमिटर वरीपरि निर्माण भएको छ । दुई सयक किलोमिटर सडकखण्ड अझै बाँकी नै छ ।’ सर्लाहीको गौरैतादेखि बाराको हर्नैया ठाउँसम्मको सडक निर्माण बाँकी रहेको पनि साहले उठाए ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले पर्साको ठोरीदेखि त्रिवेणीसम्मको बाटो पनि अलपत्र नै रहेको उनले सुनाए । उनले भने,‘त्यतिमात्रै होईन सिँगै कपिलवस्तु र बाँकेको हुलाकी सडक खण्डको काम बाँकी नै छ । यी तमाम सडकखण्डहरु अलपत्र छोडेर कस्तो हुलाकी सडकको परिकल्पना गरिएको हो ? म सोध्न चाहन्छु ।’ उनले मेचीदेखि महाकालीका जनताले हुलाकी सडकबाट हिँड्ने सपना कहिले पूरा हुन्छ भनेरपनि सरकारसमक्ष सोधे ।

उनले भने,‘आज हामी हेरिरहेका छौं देशमा विभिन्न सडकका ठेक्का प्रक्रिया अघि बढेका छन्, झण्डै ५० अर्बको बजेट सुनिश्चित्ता अहिलेका अर्थमन्त्रीले दिनुभयो, अहिलेको सरकारले दियो । तर, हुलाकी त्यसमा पर्दैन । दुःखको साथ भन्नुपर्छ नेपालको सबभन्दा बढि जनसंख्या र लाभ लिने हुलाकी सडक, जो सबभन्दा पूरानो र राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजना हो, त्यसरी किन विभेद गर्नुहुन्छ ? यो दुई तिहाईको सरकार न्याय दिनको लागि हो कि विभेद गर्नको लागि हो भनेर पनि म यहीँबाट सोध्न चाहन्छु । के नेपाली कांग्रेस र एमाले भन्ने पार्टी तराईमा छ कि छैन ? हुलाकी बाटोमा हिँड्छ कि हिँड्दैन ? यदि हिँड्छ भने ती सांसद र त्यहाँका नेताहरुलाई म सोध्न चाहन्छु–अहिले तपाईंले महेन्द्र राजमार्गलाई १५ अर्बको बजेट सुनिश्चित्ता दिईराख्दा मदन भण्डारी लोकमार्गको लागि १०/१० अर्बको ठेक्का बहुवर्षियताको सुनिश्चित्ता दिईराख्दा, विपी राजमार्गको १० अर्ब बजेट सुनिश्चितता्, मध्यपहाडी लोकमार्ग ८ अर्बको ठेक्का बजेट सुनिश्चितता गर्दा हुलाकी किन बिर्सिनुभयो ? आज हामी हेरिरहेका छौं कि दर्जनौं सडकमा ५० अर्बको बजेट सुनिश्चितता गर्दा तर हुलाकीबाहेक, हुलाकीलाई किन यसरी विभेद गर्नुहुन्छ ?’