काठमाडौं, १ वैशाख । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सुशासन, समृद्धि र सामाजिक न्याय हुँदै समाजवादको बाटोमा अगाडि बढ्ने प्रतिवद्धता पूरा गर्न सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिनेगरी बजेट ल्याउनुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले आशालाग्दो काम गर्न सकेको खण्डमा मात्रै एमालेले भन्ने गरेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुने बताएका हुन् ।
तर, अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता र सिद्धान्त हेर्दा अहिलेको बजेट जनमुखी हुनेमा आशंका रहेको उनले बताए । सरकारले रुढीबाढी र परम्परागत शैलीमै अगाडि बढ्न खोजेको बताए । ‘सबै नागरिकले राज्यको तर्फबाट स्वास्थ्य सेवा पाउनुपर्ने हक सुनिश्चित गर्नुपर्छ । दोस्रो कुरा शिक्षा हो । संविधानले ८ कक्षासम्म अनिवार्य र निःशुल्क भन्यो । १२ कक्षासम्म निःशुल्क शिक्षा भनेको छ । तेस्रो भनेको रोजगारी हो । विदेशमा जाने अधिकांश युवाहरुको आकांक्षा रोजगारी हो । अहिले यो साल हामी यतिलाई गर्छौं भन्ने कुरा आउन सकेको छैन,’– उनले भने ।
एमाले र कांग्रेसहित मिलेर बनेको सरकारले जनताले आशा गर्ने खालको कुनै पनि योजना र कार्यक्रम ल्याउन नसकेको र बजेट पनि जनमुखी नहुने बताएका हुन् । नेता पौडेलले देशमा केही पनि भएन, सबै शून्यमा झर्यो भन्ने कुरा सही नरहेको बताए । जति हुनुपर्थ्यो त्यति नभएको चाहीँ स्वीकार गर्न नसकिने उनले बताए । अब दलहरु सच्चिएर जनताको आवाजलाई ग्रहण गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।




प्रतिक्रिया