काठमाडौं, १ जेठ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पोखरा र भैरहवा विमानस्थल निर्माणका क्रममा भएको भनिएको घोटलाको सत्यतथ्य बाहिर आउने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले उपसमितिले पोखराको प्रतिवेदन बुझाइसकेको र भैरहवाको आउन बाँकी रहेको बताए ।
समितिले प्रतिवेदन दिएपछि त्यसबारेमा छलफल भएर कोही दोषी देखिएमा अनुसन्धानको लागि सिफारिस गरिने उनले बताए । ‘पोखराको प्रतिवेदन आयो । भैरहवाको आउन बाँकी छ,’– उनले भने ।
उनले एयरपोर्ट निर्माणका क्रममा कसले कति भ्रष्टाचार भयो भन्यो भन्दा पनि प्रतिवेदनमा के आएको छ त्यसको आधारमा छलफल हुने बताए । ‘कसले के भन्नुभयो भन्दा पनि उहाँहरुले तयार गरेको प्रतिवेदनको आधारमा छलफल हुन्छ । छलफल भइसकेपछि मात्रै थाहा हुन्छ,’– उनले भने ।
अहिले एउटै मान्छेले सय वटा फेक आइडी बनाएर सरकारको विरुद्धमा गलत प्रचार गरिरहेको उनको आरोप छ । ती मान्छेहरुको प्रचारको भ्रममा नपरी सत्यतथ्य खोजी गरिनुपर्ने बताए । पोखरा र भैरहवा विमानस्थल निर्माणको क्रमा घोटला भएको पाइएमा कोही पनि कानुनी कारबाहीबाट नउम्किने उनको भनाइ छ । ‘भाष्य त जे जनि तयार गर्न सकिन्छ । एउटै मान्छेले सय वटा फेक आइडी बनाएर राज्यको विरुद्ध गलत प्रचार गर्ने देश हो यो । क–कसले के प्रचार गर्नुहुन्छ, त्यसको पछि हामी लाग्नु भएन । सत्य र तथ्य खोज्नुपर्यो,’– उनले भने । File Photo/RN




प्रतिक्रिया