शून्य बेरुजुको नजिक भोजपुरको रामप्रसादराई गाउँपालिका


काठमाडौं, १ जेठ । सुशासन, पारदर्शिता र जवाफदेहितामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका शून्य बेरुजुको नजिक पुगेको छ । महालेखा परीक्षकको सार्वजनिक ६२औं प्रतिवेदन अनुसार रामप्रसादराई गाउँपालिका ०.१२ प्रतिशत मात्र बेरुजु देखिएको छ । जसलाई गाउँपालिकाको उल्लेखनीय प्रगति मानिन्छ । महालेखा परीक्षकको कार्यालयले ६२औं प्रतिबेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनका अनुसार कोशी प्रदेशको गाउँपालिकामा यस गाउँपालिका न्यून बेरुजुमा प्रथम भएको छ भने प्रदेशको समग्रमा दोस्रो नम्बरमा रहेको छ ।

त्यसैगरी देशभरका ७५३ स्थानीय तहमा गाउँपालिकाको सूचीमा छैठौँ र समग्र देशभरमा ९औँ स्थानमा रहेको र स्थानीय तह संस्थनगत क्षमता स्वमूल्यांकन (एलआईएसए) मा ९३अंक, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा ८५.५ नम्बरका साथ जिल्लामा प्रथम बनेको छ भने प्राकृतिक स्रोत तथा वित्त आयोगको सम्पादन सुचकमा पनि ६४.५१ अंक सहित जिल्लामा दोस्रो बनेको छ ।

सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता
स्थानीय सरकारले नागरिकको ढोका–ढोकाबाट सेवा प्रवाह गर्दै आएको छ । स्थायी घरधुरी न्यायिक समितिबाट प्रत्येक वडामा न्याय प्रवाह गरिएको छ भने, नागरिकलाई सुलभ सेवा दिन वडास्तरमै केन्द्रित कार्यालयहरू सञ्चालन गरिएको छ । गाउँपालिकाले बालबालिका, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी, पूर्वाधार र प्रशासनिक सुधारका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ । पालिकाको सबै वडामा सार्वजनिक सुनुवाइ, योजना सम्झौता शिविर, सामाजिक सुरक्षा भत्ता वितरणदेखि स्वास्थ्य, कृषि, कानुनी साक्षरता, शैक्षिक सचेतनामूलक जस्ता कार्यक्रमहरु पनि सञ्चालन भइरहेको छ ।

नीतिगत सुधार र दीर्घकालीन दृष्टिकोण
गाउँपालिकाले शुन्य बेरुजु बनाउने लक्ष्यसहित रणनीतिक योजना र कार्यविधिहरू तयार पारेको छ । नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनसहभागिता र उत्तरदायित्वलाई विशेष प्राथमिकतामा राखेको छ । कार्यलयगत अनुशासन, पारदर्शिता, सेवा प्रवाहको दक्षता र कर्मचारी क्षमता अभिवृद्धिमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ ।

कृषि र पूर्वाधारलाई उच्च प्राथमिकता
गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न भण्डारण तथा बजारीकरणका उपायहरू अवलम्बन गरेको छ । स्थानीय जैविक खाँदी प्रणाली, उन्नत बीउ उत्पादन र कृषि उपज संकलन केन्द्र स्थापनाका प्रयासहरू जारी राखेको छ । त्यसैगरी, शैक्षिक सुधार, विद्यालय स्तरीय व्यवस्थापन र विद्यालयमा अनुशासनयुक्त वातावरण निर्माणमा समेत गाउँपालिकाले सक्रियता देखाएको छ ।

रामप्रसादराई गाउँपालिकाको सुशासनमुखी कार्यशैली, शून्य बेरुजुतर्फको अग्रसरता, वित्तीय पारदर्शिता र जनउत्तरदायिता स्थानीय सरकारको राम्रो अभ्यासको उदाहरण बनेको छ । आगामी दिनहरूमा पनि यस्तै प्रभावकारी प्रशासनिक कार्य मार्फत स्थानीय नागरिकहरुको सन्तुष्टि अभिवृद्धि गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ ।