काठमाडौं, २ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले वर्तमान सरकारले आफ्नालाई जोगाउने र विमति राख्नेहरुलाई प्रतिशोध साँध्ने काम गरिरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार निष्पक्ष नदेखिएको बताएका हुन् । सहकारी ठगी प्रकरणमा नै आफ्नालाई जोगाउने र प्रतिपक्षीलाई छानीछानी दु्ःख दिने काम गरिरहेको उनले बताए ।
‘अलिअलि पूर्वाग्रह राखेर, जस्तो कतिपय सहकारीको बारेमा सरकारको निष्पक्षता देखिँदैन । कतिपयलाई खोजीखोजी, पक्रिएको छ भने पनि एउटै केसमा दर्जनौं मुद्दा खोजीखोजी लगाइएको छ । कतिपय उठेका प्रश्नहरुमा जोगाइएको छ । यो कुराले के देखिएको थियो र छ भने आफ्ना र नजिककालाई जोगाउन खोज्ने, अरुलाई कहीँ न कहीँ आफूसँग विमति राख्नेहरुसिछ प्रतिशोध साध्ने काम कार्यकारीले गर्यो भनेदेखि न्याय मर्छ,’– उनले भने ।
साथै, टेरामक्स प्रविधि खरिद प्रकरणको मुद्दा दायर गर्ने क्रममा पनि सरकार निष्पक्ष नदेखिएको उनको धारणा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले बयान लिए पनि कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की र एमाले नेता गोकूल बास्कोटालाई टेरामक्स प्रकरणमा प्रतिवादी नबनाइएको संकेत उनले गरे । ‘अहिले टेरामक्सको कुरा उठेको छ । व्यक्तिले के गर्नु भएको छ भन्ने कुरा मलाई नसोध्नुस् । थाहा छैन । सम्बन्धित निकायले खोजीनीति गर्ला,’– उनले भने ।
साथै, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा आफ्ना र अरु कसैलाई नहेरी विभिन्न प्रकरणमा जोडिएकाहरुलाई अनुसन्धानको दायरामा ल्याएको उनले बताए । नेता पौडेलले आफ्नै पार्टीका कृष्णबहादुर महरालाई समेत नछाडिएको उनले बताए । ‘कृष्णबहादुर महराले मसित भेट्दा उहाँ रुनुभयो । कसैले पनि जोगाएर उहाँ उम्किनु भएको होइन । त्यतिबेलाको सरकारले आफ्ना जोगाउन कहीँकतै भूमिका खेलेन,’– उनले भने ।
त्यसैगरी, एमाले सचिव टोपबहादुर रायमाझीलाई मात्रै नक्कली भुटानी शरणार्थी प्रकरणमा किन दोषी करार गरियो भन्ने आफूले बुझ्न नसकेको उनले बताए । रायमाझी आफ्नो ४० वर्षदेखिको पूरानो साथी रहेको बताउँदै उनले रायमाझी हिरासतमा हुँदा लुकीलुकी भेट्न गएको समेत माओवादी सचिव पौडेलले खुलासा गरे । यद्यपि उनी उक्त घटनामा जोडिएको हो भने कारबाहीको भागिदार हुनुपर्ने नेता पौडेलले बताए ।
‘टोपबहादुर मेरो ४० वर्ष पूरानो साथी पनि हुनुहुन्छ । डराइ–डराई मैले हिरासतमा गएर भेटेको पनि हो । मेरो साथी, संगै काम गरेको, मैले गएर भेटेँ । उहाँले गलत गर्नुभएको छ भने मेरो भन्नु केही पनि छैन । यसो हेर्दा उहाँमात्रै किन दोषी करार भएर जेलमा बसिरहनुभएको छ भन्ने प्रश्न त उठेको छ । फेरि पनि गल्ती गर्नु भएको छ भने उपाय के लाग्छ र ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया