काठमाडौं, २ जेठ । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले ठूला–ठूला भ्रष्टाचारका मुद्दाहरु वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै वरिवरी तेर्सिएको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै पूर्व डीआईजी मल्लले ठूला भ्रष्टाचारको मुद्दा शीर्ष नेतात्रयकै वरिवरी तेर्सिएको र उनीहरुले नै भ्रष्टाचारकोे लागि प्रमोट गरिरहेको बताएका हुन् ।
‘जतिपनि ठूला–ठूला भ्रष्टाचारका मुद्दाहरु छन्, त्यो बुढानीलकण्ड, प्रचण्डको परिवार र अहिलेका प्रधानमन्त्री र उहाँको वरिपरी तेर्सिएको छ । यसको त दायाँबायाँ कुराहरुलाई प्रमोट गर्नुहुन्छ, त्यही किसिमका मान्छेहरु ल्याउनु हुन्छ भनेदेखि भ्रष्टाचारलाई नियन्त्रण गर्ने कसले ?’ प्रश्न गर्दै उनले भने ।
पूर्व डीआईजी मल्लले नेतात्रयविरुद्ध तलका कार्यकर्ता र पदाधिकारीहरुले केही बोल्न नसक्दा पनि समस्या आएको बताए । उनले तलका कार्यकर्ताहरु पनि त्यसैमा च्याखेँ थापेर बसेको टिप्पणी गरे । ‘फेरि तलको समस्या के देखिरहेको छु भने उहाँहरुको तलका कार्यकर्ता र पदाधिकारीहरु विरोध पनि गर्न नसक्ने, भ्रष्टाचार जुन भइरहेको छ, त्यसमै च्याँखे थापेर बस्ने । यो मुद्दाहरु जुन–जुन अगाडि बढिरहेको छ– उहाँहरुकै कार्यकर्ता हुन् नि त,’– उनले भने ।




प्रतिक्रिया