काठमाडौं, २ जेठ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले अहिलेको कांग्रेस–एमाले सरकारप्रति जनताको विश्वास नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सी छोड्नसमेत दिक्षितको आग्रह छ । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले झुटमाथि झुट बोलेको पनि आरोप लगाए । राष्ट्र बैंकको गभर्नरमा आफ्नो क्याण्डिेट नभएको भनेर ओलीले भनेको विषयलाई दिक्षितले झुटको संज्ञा दिएका हुन् । उनले भने,‘केपी ओलीको क्याण्डिेट नहोला र ? झुटमाथि झुट, त्यसमाथि म काम गर्न सक्दिनँ भनेर मञ्चबाट डाईरेक्ट्ली बोलेको त मैले सुनेको छु, त्यसो भयो छोड बाबा, तिमी बरु काम गर्नसक्ने मान्छेलाई देउ । पैसा पनि खानु, मोजमस्तीपनि गर्नु, कम्बाईनमा पनि चल्नु, अब तिमी कांग्रेससँग सन्तुष्ट छैनौं भने छोड । तिमीले प्रधानमन्त्री पद त छोड्नुपर्यो । म सक्दिनँ भनेपछि तिमीलाई बस्ने अधिकार नै छैन । यस्ता यस्ता थोत्रा मान्छे भएपछि देश कसरी चल्छ ?’
उनले कुनैपनि नियुक्तीमा मेरिटोक्रेसी लागु नगरिएको आरोप लगाए । उनले भने,‘तर ओलीजी झुट बोल्दै हुनुहुन्छ, यस्तो झुट बोल्ने प्रधानमन्त्री, त्यसमाथि काम गर्न सक्दिनँ भन्ने प्रधानमन्त्री, के नाक मुखले यो मान्छेले काम गरेको छ ? भन्नुहोस त मलाई । अनि मुलुक कसरी चल्छ ? प्रधानमन्त्री त्यस्तो भएपछि कसरी मुलुक चल्छ ?’
उनले विपक्षी दलका नेता पुष्पकमल दाहालको अभियानलाई पनि जनताले नपत्याउने टिप्पणी गरे । तीन तीन पटक प्रधानमन्त्री हुँदापनि प्रचण्डले केही गर्न नसकेको र छोडेपछि मैले यसो गर्न खोजेको थिएँ भनेर भनेकोमा पनि उनले आलोचना गरे । उनले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको र मुलुक बर्बाद भएको टिप्पणी गरे ।




प्रतिक्रिया