काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य रोशन कार्कीले वर्तमान सरकार निरङ्कुश भइराखेको र गृह प्रशासनले आफूलाई मण्डलेकरण गरिरोखको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैै उनले सरकारले नागरिकहरुलाई बोल्ने र लेख्न स्वतन्त्रतासमेत नदिएको बताएकी हुन् ।
राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसी पक्राउ परेको प्रसंगलक्षित गर्दै उनले भनिन्, ‘यो सरकार निरङ्कुश भइरहेको छ । गृह प्रशासनले आफूलाई मण्डलेकरण गरिराखेको छ । कहिले पनि पल्लो बेन्चबाट ओल्लो बेन्चमा आउँछु भन्ने यसलाई महशुस छैन । यो आफूलाई के भनिराखेको छ, थाहा छैन । संविधानको धारा २७० निलम्बन भएको हो ? बोल्ने स्वतन्त्रता किन हुँदैन, लेख्ने स्वतन्त्रता किन हुँदैन ? सामाजिक सञ्जालमा लेखेको भरमा मान्छेलाई थुन्न पाइन्छ ? गणतन्त्रले नेपाली जनतालाई दिएको उपहार यही हो ?’
साथै, नेतृ कार्कीले मन्त्रीहरु संसद्मा आएर भिडिओ गेम खेल्ने र खासखुस गरेर बाहिरिने गरेको टिप्पणी गरिन । सांसदहरु भने गफगाफ गर्ने र कतिपय अवस्थामा उँग्ने गरेको भन्दै उनले सभामुखको अवस्था देख्दा माया लागेको बताईन् । उनले ‘निला कुुर्सी, उँघिरहेको सांसदहरु र भिडिओ गेम खेलिरहेका मन्त्रीहरुको दृष्य कस्तो देखिन्छ होला ?’ भन्दै सभामुखलाई प्रश्नसमेत गरिन् ।
‘मन्त्रीज्यूहरु यहाँ उपस्थित हुनुहुन्छ, भिडिओ गेम खेल्नुहुन्छ । खासखुस गर्नुहुन्छ । उठेर हिँड्नुहुन्छ । अर्थमन्त्रीज्यूले सिद्धान्त र प्राथामिकता ल्याएर पढ्नुहुन्छ । हामीहरु गम्भीर भएर त्यसमा छलफल गर्छौं । जबकी हामीहरुलाई थाहा छ– हामीहरु जनतालाई ढाँटिरहेका छौं, विषयगत मन्त्रालयबाट बन्नुपर्ने बजेटहरु बनिसक्यो । कति जना माननीय त हामीहरु उँग्छौं । निलो कुर्सीहरु खाली हुन्छ । बाहिर चाहीँ यो दृष्य देख्दा कस्तो होला ? मलाई त कहिलेकाँही सभामुखज्यू हजुरको पनि माया लाग्छ । निला कुर्सीहरु, गफ गरिरहेका र उँघिरहेका माननीयहरु, मन्त्रीहरु भिडिओ गेम खेलेर बसिरहेको सिन त्यहाँ माथिबाट कस्तो देखिन्छ होला ?’ प्रश्न गर्दै उनले भनिन् ।




प्रतिक्रिया